पाइपमा बारुद भर्दै गर्दा पड्किएर दम्पति घाइते

मातृभूमी संवाददाता । १४ कात्तिक दैलेख
दैलेखको नारायण नगरपालिका ६ भूर्तीमा फलामे पाइपमा बारुद भर्दै गर्दा पड्कीएर एक दम्पति घाइते भएका छन् । २८ वर्षीय अर्जुन सार्की र उनकी श्रीमती २२ वर्षीय अञ्जू सार्की बारुद पड्कीदा खख्त घाइते भएका हुन् । माछा मार्ने विष्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद भर्दै गर्दा अकस्मात् पड्कीएर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।
पाइप पड्किँदा अर्जुनको देब्रे हातको हत्केला पूरै उडेको छ भने अञ्जूको दाहिने खुट्टामा कडा चोट लागेको जनाइएको छ । दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कणर्ाली प्रदेश अस्पतालमा पुर्‍याइएको अर्जुनका बुबा हरि सार्कीले जानकारी दिए । ‘१० वर्ष अघिदेखि काठ फर्निचर सञ्चालन गर्दै आएका अर्जुनले ६ वर्ष अघि अन्तरजातीय विवाह गरेपछि युवतीले छोड्दा मानसिक स्वास्थ्यमा समस्या आएको थियो’ स्थानीय प्रेम भूर्तेलले भने ।
अन्तरजातीय विवाह अघिकी पहिलो श्रीमतीले बहुविवाह उजुरी गरेपछि २ वर्षको कारावासबाट छुटेपछि अन्तजातीय विवाह गर्ने मगर थरकी ती युवतीलेसंगै बस्न नसक्ने भनेर माइतीमा पुगेपछि अर्जुन माइती घरमा एक साता अनसन समेत बसेका थिए । त्यसबेला परिवारजनले सम्झाई बुझाई गरी घरमा ल्याएपछि फर्निचनमा आफै मुख्य मिस्त्रीको काम गर्दै आएका छन् । पहिलो श्रीमतीले २ छोराछोरी छोडेर अन्यत्रै विवाह गरेपछि दुई वर्ष अघि अञ्जूलाई तेश्रो श्रीमतीको रुपमा भित्र्याएका थिए ।
अञ्जू गर्भवती छिन् । ‘कात्तिक ५ गतेलाई समय दिइएकोमा अझैं वच्चा जन्मेको छैन, अञ्जूको पेटमा पनि चोट लागेकोले गर्भको बच्चालाई केही असर पो पर्‍यो कि ? चिन्ता लागेको छ’ अर्जुनले टेलिफोनमा भने । पाइप पड्किँदाको धुवाँले आफ्नो दुइटै आँखा धमिलो देखिएको अर्जुनले बताए । ‘डाक्टरले हात काट्ने भनेका छन्, औषधि गर्ने पैंसा पनि छैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *