संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध गठबन्धन आवश्यक : देउवा

अस्मित सिजापति । २९ कात्तिक (दुल्लु) दैलेख
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि उल्लेख्य काम गरेको दाबी गरेका छन् । केहिदिन अघि दैलेखमा जम्भुकाँधमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले देउवा प्रधानमन्त्री हुँदा के गर्नुभयो भनेर प्रश्न गरेका थिए । दैलेखको दुल्लुमा भएको चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सोहि प्रश्नको जवाफ स्वरुप मुलुकको शान्ति र समृद्धिका लागि आफुले प्रधानमन्त्री हुँदा धेरै काम गरेको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आम नागरिकलाई आह्वान समेत गरे । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा दुई-दुई पटक संसद् विघटन गरेर प्रतिगमन गरेको बताउँदै गठवन्धनलाई वहुमत दिएर जिताए पाँच वर्षसम्म सरकार चल्ने दावी गरे ।
संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको हो । प्रधानमन्त्री देउवाले भने, ‘यो दीर्घकालसम्म रहन्छ । त्यसैले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुस् ।’ संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *