गुराँस गाउँपालिका वडा नं. ८ बालमैत्री वडा घोषणा

मातृभूमी संवाददाता । २९ मंसिर दैलेख
जिल्लाको गुराँस गाउँपालिकाको ८ नं. वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसा रहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले विहीवार एक समारोहवीच बालमैत्री वडा घोषणा गरेका छन् ।
गुराँस गाउँपालिका स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको यो दोश्रो वडा हो । यसअघि गुराँस गाउँपालिकाको ६ नं. वडालाई १६ पुस २०७५ मा बालमैत्री वडा घोषणा गरिएको थियो । जिल्लाको हिसावले यो तेस्रो बालमैत्री वडा बनेको छ ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पुरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिन्छ ।
बाल अधिकारका ‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरि चारवटा पक्षलाई मुख्य आधार मानेको छ । चार सय १९ घरधुरी रहेको वडा नं. ८ मा दुई हजार चार सय २९ जना जनसंख्या रहेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकाँश सूचक पुरागरेर बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष दीपेन्द्र ओलीले बताए । बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूणर् सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष ओलीको भनाई छ ।
वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय र सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।
निर्देशिकाले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।
त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूणर्खोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *