नेतृत्वको इमान्दार प्रयासले विकृति, बिसंति सुधार गर्न सकिन्छ : काँग्रेस सभापति रेग्मी
मातृभूमी संवाददाता । १८ पौष दैलेख
नेपाली काँग्रेसको जिल्ला सभापति मणिराम रेग्मीले राजनीतिक नेतृत्वको इमान्दार प्रयासले धेरैतिरका विकृति र बिसंतिहरु सुधार गर्न सकिने बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान दैलेख र बालविवाह विरुद्धको साझा अभियान सञ्जालले सोमवार दैलेख सदरमुकाममा आयोजना गरेको गुणस्तरीय शिक्षा र बालविवाह अन्त्य विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो वताएका हुन् ।
सभापति रेग्मीले समाजमा सबैतिर समस्या भएको र यी समस्या समाधान गर्न राजनीतिक नेतृत्वले साझा हितमा काम गर्ने गरी सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति सबैलाई उत्तरदायी बनाउन सके मात्र लोकतान्त्रिक संस्कारको विकास हुन सक्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव तिलक रिजालले शैक्षिक गुणस्तर सुधार गर्न, बालविवाह अन्त्यको अभियान वा यस्ता सबै कामका लागि हरेक घरमा बालबालिकालाई असल शिक्षा र आवश्यक रेखदेख गर्न जरुरी हुने सुझाव दिए ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) दैलेखका उपाध्यक्ष जङ्गबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमहरु प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुवीच समन्वय प्रभावकारी बनाउन आवश्यकता रहेको वताए ।
नारायण नगरपालिका दैलेखका उपमेयर तप्ताकुमारी थापाले आम सञ्चार माध्यम र नागरिक समाजले सरकारले गरिरहेका काममा आवश्यकता पर्दा खवरदारी गर्न र रचनात्मक काममा सकारात्मक सहयोग गर्न आग्रह गरिन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखका जिल्ला अध्यक्ष भरतराज अधिकारीको अध्यतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का कणर्ाली प्रदेश सदस्य मयाराम अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल, शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय सदस्य दुर्गा गिरी लगायतले शैक्षिक गुणस्तर सुधार र बालविवाह अन्त्यका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।