दैलेखका स्थानीय तहमा कर्मचारी अभाव
हिक्मत ज्ञवली । २४ पौष दैलेख
दैलेखका स्थानीय तहमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । दैलेखका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुई पालिकाको जिम्मेवारी वहन गर्दै आएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुई गाउँपालिकाको काम गर्दै आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत खड्काले भगवतीमाई गाउँपालिकाका साथै भैरवी गाउँपालिकाको समेत कामकाज गर्दै आएका छन् । कर्मचारी पठाउन आग्रह गरेको र अहिलेसम्म कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्रबहादुर शाहीले बताए । सूचना अधिकारी शाहीले कर्मचारी अपुग भएको भनेर पटक-पटक भन्दा पनि कर्मचारी नपठाउँदा प्रमुख प्रशासकीय अधिकृत खड्काले दुई पालिकाको जिम्मेवारी लिनु परेको वताए ।
दैलेखका ११ स्थानीय तह मध्ये २ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा संचालन हुँदै आएका छन् । सरकारले दरबन्दी अनुसारका कर्मचारी व्यवस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीलाई निमित्तमा राख्नुपर्ने बाध्यता रहेको छ । दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने प्रवृत्तिले पनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको हो । जिल्लाका विकट स्थानीय तहमा अझै पनि कर्मचारी नभएको जनप्रतिनिधि बताउँछन् ।