गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न घरदैलोमा भगवतीमाइ गाउँपालिका
मातृभूमी संवाददाता । २४ पौष दैलेख
दैलेखको भगवतीमाइ गाउँपालिकाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न घरदैलोमा स्वास्थ्यकर्मी पठाउने गरेको छ । गाउँपालिकाले सुत्केरी भएपछि स्वास्थ्यकर्मीहरू दुई पटक घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्था वुझ्ने गरेको छ । स्वास्थ्यकर्मीहरु घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था वुझ्दै स्वास्थ्यको हेरचाह र पोषिलो खानाबारे आवश्यक परामर्श दिने गरेको भगवतीमाई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक टीकाराम विष्टले बताए ।
भगवतीमाई गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्थामा विगत दिनमा स्वास्थ्यकर्मी भेट्न मुस्किल हुन्थ्यो । अहिले घरमै आएर सञ्चो-बिसञ्चो सोध्न थालिएको भगवतीमाई गाउँपालिका ३ मेहलतोलीकी सुत्केरी सरिता बुढा वताईन् । उनले घरमै आएर स्वास्थ्य सम्बन्धी परामर्श दिने गरिएको र चेकचाँज गरेर पोषिलो खाना खान सल्लाह दिने गरेको भन्दै खुसी व्यक्त गरिन् ।
भगवतीमाई गाउँपालिकामा पछिल्लो समय स्वास्थ्य सामग्री सहितको झोला बोकेर स्वास्थ्यकर्मी सुत्केरी खोज्दै घरदैलेमै पुग्ने गरेका छन् । पालिकाले आधारभूत मातृशिशु स्याहारमा चासो दिन थालेपछि भगवतीमाईका गर्भवती तथा सुत्केरीहरूलाई निकै सहज भएको वुढाले वताईन् ।
उनले स्वास्थ्यकर्मीहरूले आफ्नो स्वास्थ्य अवस्था मात्रै नवुझेर पोषिलो खानेकुरा तथा हेरचाहका लागि परिवारका सदस्यलाई पनि जानकारी गराएको र न्यानो कोठामा बस्न र पोषिलो खाना खान सुुझाव दिएको वताईन् ।
यस्तै स्वास्थ्यकर्मी घरमा आउँदा आफ्नो स्वास्थ्य समस्या राख्न सहज भएको भगवतीमाई गाउँपालिका ३ कै कालिका चन्दले बताइन् । भौगोलिक विकटता र यातायातको सहज पहुँच नभएको भगवतीमाईमा गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य चौकीसम्म जान पनि कठिनाई भएको भन्दै आफ्ना समस्याबारे घरमै परामर्श पाइने भएपछि प्राथमिक उपचारका साथै रोगको पहिचान गरेर थप उपचारमा सहयोग पुग्ने चन्दले वताईन् ।
गएको जेठदेखि भगवतीमाई गाउँपालिकामा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घरमै पुग्ने अभियान थालिएको हो । पालिकाले यस्तो अभियानको सुरुवात गरेसँगै गर्भवती र सुत्केरीहरू लाभान्वित भएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक विष्टले बताए । उनले पालिकाले सुत्केरीसँग चार पटक स्वास्थ्यकर्मी भेटघाट गर्ने कार्यक्रम राखेको वताए । दुुई पटक स्वास्थ्यकर्मी घरमै पुुग्ने र दुुई पटक स्वास्थ्य संस्थामै भेटघाट गर्ने गरेको जनस्वास्थ्य निरीक्षक विष्टले जानकारी दिए ।
गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेयता सुत्केरी आमा तथा नवजात शिशुुको पोषण र स्वास्थ्यमा सुुधार देखिएको भगवतीमाई गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काले वताईन् । गर्भवतीको स्वास्थ्य परीक्षण गर्ने दरमा पनि उल्लेखनीय सुधार आएको भन्दै उपाध्यक्ष खड्काले उक्त कार्यक्रमका लागि गाउँपालिकालाई संघीय सरकारले चालु आर्थिक वर्षमा ४० लाख बजेट दिएको वताईन् ।
कार्यक्रमको प्रभावले सुत्केरीको खानपान, सरसफाई र स्याहारमा जागरण आएको भगवतीमाई गाउँपालिका ३ मेहेलतोली स्वास्थ्य चौकीकी अनमी लक्ष्मी श्रेष्ठ बताईन् । गाउँघरमा सुत्केरीलाई गर्ने व्यवहारमा ठूलो परिवर्तन आएको भन्दै विगतमा सुत्केरीलाई छुुट्टै कोठामा राख्ने र खाना बार्ने चलन थियो । अहिले स्वास्थ्यकर्मी घरमा सुत्केरी भेट्न जाँदा परिवार खुसी हुने गरेको अनमी श्रेष्ठले वताईन् ।