अत्याधिक मदिरा सेवनले राउटेको अस्तित्व मेटिने खतरा

(फोटो क्याप्सन : आफैले वनाएको घरेलु मदिरा पिउँदै राउटे ।)

मातृभूमी संवाददाता । २५ पाैष दैलेख
कणर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायको अस्तित्व मेटिने खतरा वढ्दै गएको छ । आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे समुदाय अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमी तथा नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसंख्या बर्षेनि घट्दो क्रममा छ । अध्याधिक मदिरा सेवनले युवायुवती र वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् ।
पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन् । धेरैजसो वयस्क उमेरका राउटे नागरिक अत्याधिक मदिरा सेवनले मृत्युवरण गरिरहेका छन् । मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य अवश्था कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।
२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाडौंसम्म पुर्‍याएर उपचार गरियो । आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाई कम गर्न उनले मदिराको सहारा लिए । नियमित अत्यधिक मदिरा सेवनले कपिलको २०७७ असार ३१ गते मृत्यु भयो । गत मंगलबार मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते छन् । कणर्ाली प्रदेश अस्पतालमा उपचार गराइरहेका उनको शरीरको ३० प्रतिशत भाग जलेको छ ।
अत्यधिक मदिरा सेवनका कारण भीरबाट लडेर मृत्यु हुने क्रम पनि बढेको छ । अत्यधिक मदिरा सेवनका कारण शिवराज शाहीको मृत्यु भयो । बजारमा पाइने लिचीजस्ता कमसल मदिराको लतमा फसेका शिवराजको २०७८ वैशाखमा मृत्यु भयो । जाँड खानु राउटे समुदायको मौलिक विशेषता बनेको छ । उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्ने गर्थे । तर पछिल्लो समय आफूले बनाएको नभई बजारमा पाइने कमसल मदिराका पारखी बनेका छन् । बालबालिकादेखि बूढापाकामा मदिराको लत बढ्दै गएको छ ।
राउटेको अत्याधिक मदिरा सेवनको लत बन्द गर्नुपर्ने राउटे जानकार डा. लालबहादुर पुनको भनाई छ । वजारमा पाईने कमसल मदिराको प्रयोग पूणर् रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने डा. पुनले वताए ।

(फोटो क्याप्सन : घरेलु मदिरा पिउँदै राउटे युवती ।)

राउटे समुदायले सरकारले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने गरेका छन् । सामाजिक सुरक्षा भत्ता नगद दिन बन्द गर्नुपर्र्ने अर्का राउटे जानकार हिरासिं थापाले वताए । सरकारले उपलव्ध गराएको सामाजिक सुरक्षा भत्ता राउटे समुदायका नागरिकहरूले रक्सी, चुरोट र सुर्तीमा खर्चिने गरेका छन् । राउटे महामुखिया महिनबहादुर शाहीले आफ्नो समुदाय रक्सीको कुतलमा फसेको बताए ।
पहिले आफैंले बनाएको जाँड खाने गरेको र अहिले समुदायका सबै नागरिकले बजारमा पाईने रक्सी खाने गरेको महामुखिया शाहीले वताए । महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने गरेको वताउँदै बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसकेको महामुखिया शाहीको भनाई छ । बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिने बित्तिकै मर्न थालेको महामुखिया शाहीले वताए । राउटे समुदाय दैलेखको नारायण नगरपालिका ८ सालखर्कमा बसोबास गर्दै आईरहेका छन् । हाल उनीहरूको जनसंख्या हाल १ सय ४३ रहेको छ ।

मदिरा पिउनकै लागि पैसा माग्छन्

जंगलमा फिरन्ते जीवन बिताउने अन्य जाति समुदायको नजिक नहुने राउटे समुदायले अहिले मदिरा पिउनकै लागि पैसा माग्ने गरेका छन् । कुनै समय पैसा छोए पाप लाग्छ भनेर अन्न गेडागुडीसँग आफूले बनाएका सामान साट्ने उनीहरू मदिरा पिउनकै लागि पैसा माग्ने गरेको नारायण नगरापालिकाका स्थानीय टोपेन्द्र थापाले वताए । ‘केहिदिन आफु वेस्तडा गएर बाइकमा दैलेख सदरमुकामतिर आउँदै थिएँ ।’ उनले भने, ‘चल्दो बाईक एकजना राउटे युवाले रोके मैले के भो भने । उनले रक्सी खाने पैसा छ की भनेर पैसा मागे । कसो दुर्घटना भएन ।’ राउटेहरू मदिरा पिउनकै लागि बाटोघाटो, बजार बस्तीमा जहाँ भेट्यो त्यहीँ पैसा माग्ने गरेको स्थानीय थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *