बँदेललाई थापेको पासोमा परेर चितुवा मर्यो
मातृभूमी संवाददाता । ०९ माघ दैलेख
बँदेललाई थापेको पासोमा परेर चितुवाको मरेको छ । दुल्लु नगरपालिका ९ चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवालाई उद्धार गरेर दैलेख सदरमुकाम ल्याउदै गर्दा श्रीस्थानमा मरेको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए ।
बँदेलका लागी थापेको पासोमा परेर चितुवा घाइते भएको भन्ने आइतवार विहान खवर प्राप्त भएपछि बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. चित्र खड्काको टोलीले घटना स्थलबाट उद्धार गरेको ढकालले बताए ।
पशु चिकित्सक डा. चित्र खड्काले भने, ‘उद्धार गरिएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्ज लैजान गाडीमा आउदै थियौं बाटैमा मर्यो । पशु अस्पतालमा पोष्टमार्टम गर्न लगाइयो ।’
बँदेललाई थापेको पासोमा परेपछि चितुवा भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने भएको त्यही दुखाईले चितुवा मरेको पशु चिकित्सक डा. खड्काले बताए ।
उपचार गर्न लिन खोजिएको चितुवा बाटैमा मरेको कारण राष्ट्रिय अखोटोपहार चितवनमा पठाउनका लागि मृत चितुवाको छाला काडेको र भित्री शरीर पशु अस्पताल दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए ।
दुल्लु नगरपालिका ९ पादुका क्षेत्रमा बँदेलले अन्न बाली र सागपात नोक्सानी गर्न थालेपछि डिभिजन वन कार्यालयलाई खबर गरे पनि कुनै सहयोग नभएपछि बँदेललाई पासो थाप्ने गरिएको स्थानीयको भनाई छ ।