कर्णालीको विकासमा सबैको सहयोग आवश्यक : मन्त्री जिसी

मातृभूमी राजनितिक व्युरो । २५ माघ दैलेख
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी (जितेन्द्र)ले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताए । जिल्लागत शान्ति सुरक्षाको अवस्थाको जानकारी लिन दैलेख आएका वेला प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
मन्त्री जिसीले कर्णाली प्रदेशको विशेष सुरक्षा योजना निर्माण गर्न जिल्लागत अध्ययनमा हिँडेको भन्दै समाजमा हुने अपराध निर्मुल पार्दै प्रदेश सरकारले सुरक्षित कर्णाली प्रदेश निर्माण गरिने वताए । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रेससँग सम्बन्धित हुने भएकाले प्रदेश आमसञ्चार प्रतिष्ठान सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने दावी गरे ।
मन्त्री जिसीले पुराना सबै कानुनको अध्ययन गरी प्रदेश सरकार थप कानुन निर्माण गर्नतर्फ लाग्ने जिकिर गर्दै सुरक्षा निकाय केन्द्र सरकार मातहत रहने व्यवस्था भए पनि सबै नागरिकप्रति अझ जवाफदेही हुनुपर्ने धारणा राखे ।
‘जनताको सेवा गर्ने सुरक्षाकर्मीको आत्मबल बढाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू बनाउँछ ।’ मन्त्री जिसीले भने, ‘समाजमा गलत सूचनाको प्रभाव बढ्दै गएकाले यसप्रति सबै सजग हुनुपर्छ । जनस्तरलाई जवाफदेही बनाउन कर्णालीमा वृहत् सुरक्षा योजना बनाउन लागेका छौँ । कर्णालीमा ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न नहुने गरेकाले समस्या हुने गरेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *