जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा

मातृभूमी संवाददाता । ०२ फागुन दैलेख
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २८ वर्षपछि सदरमुकाम बाहिर हुन लागेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकूदप्रति लगाव बढाउन हरेक वर्ष आयोजना हुँदै आईरहेको प्रतियोगिता २८ वर्षपछि सदरमुकाम वाहिर हुन लागेको हो । प्रतियोगिता संचालन गर्न चामुण्डाबिन्द्रासैनी नगरपालिकाले तप्परता लिएपछि झण्डै तीन दशकपछि जिल्ला सदरमुकाम बाहिर गर्न लागिएको हो ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमले प्रतियोगिता संचालनका लागि खर्च धान्न कठिनाई भएको बेला चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आयोजना गर्ने जिम्मेवारी लिएर जम्बुकाँधमा प्रतियोगिता गर्ने तयारी भएको जिल्ला खेलकूद विकास समिति दैलेखका अध्यक्ष गोपाल बीसीले बताए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख मेयर गणेशबहादुर शाहीले जिल्ला स्तरीय प्रतियोगिता संचालनको तयारी पूरा भएको जानकारी दिए । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सहभागी, व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्री र पाहुनाहरुका लागि यातायात, आवास व्यवस्था गर्न नगरपालिकाले विषयगत समिति बनाएर काम पूरा गरिसकेको मेयर शाहीले बताए ।
तयारी पूरा भएको छ । प्रतियोगितालाई व्यवस्थित वनाउन सबै प्रयासहरु गरिएकोले असुविधा होला कि भन्ने चिन्ता नगर्न मेयर शाहीले सरोकारवालासंग आग्रह गरेका छन् ।
फागुन ४ गतेदेखि ७ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटिक १००, २००, ४००, ८००, १५०० र ३००० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने जिल्ला खेलकूद विकास समितिका कार्यालय सचिव भूपेन्द्र शाहीले जानकारी दिए ।
सदरमुकामको कभडहलमा खेलाउन सजिलो हुने भएकोले तेकेन्दो र कराते खेल फागुन १२ गते दैलेख सदरमुकाममा गरिने कार्यालय सचिव शाहीले बताए ।
प्रतियोगिताको उद्घाटन कणर्ाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *