सरकारी क्वाटरमा करार र भोलेन्टिएर कर्मचारीको रजाँइ
मातृभूमी संवाददाता । ०८ चैत्र दैलेख
दैलेख अस्पतालमा काम गर्ने स्थायी कर्मचारीले क्वाटर नपाएको तर स्वयंसेवीका रुपमा काम गर्ने र क्यान्टिन संचालकलाई क्वाटर दिईएको कर्मचारी गुनासो गरेका छन् ।
हस्पिटलमा काम गर्ने कर्मचारीलाई क्वाटर उपलव्ध गराईएको छैन । एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘हामीलाई क्वाटर छैन तर हस्पिटलमा जागिर नभएका, भोलेन्टिएरका रुपमा काम गरिरहेका र क्यान्टिन संचालन गर्नेहरुलाई क्वाटर दिइएको छ ।’
कार्यालयमा रहेका स्थायी कर्मचारीहरुलाई आवासको सुविधा उपलव्ध नगराईएको र करार तथा स्वयंसेवीका रुपमा काम गरिरहेकालाई आवास उपलव्ध गराएर सरकारी सम्पतिमाथि रजाँइ गरिरहेको अस्पताल विकास समितिका एक सदस्यले वताए ।
दैलेखका अस्पतालका प्रमुख डा. रेग्मीले क्यान्टिलवालाई आगामी भदौसम्म क्वाटर दिने सम्झौता भएको र अन्य कर्मचारीहरुलाई दिईएको क्वाटर फिर्ता लिने वताए । हाम्रो तेस्रोआँखा दैनिकसँग कुरा गर्दै डा. रेग्मीले नारायण नगरपालिका भित्रका कर्मचारीलाई क्वाटर नदिईने र दिनै परे रातिमा काम गर्ने कर्मचारीको आवश्यकतालाई मध्यनजर गरेर दिने वताए ।
डा. रेग्मीले क्वाटर अभावका कारण जिल्लामा आउने दुई जना डाक्टरहरुलाई समेत वोलाउन नसकिएको र उनीहरु सुर्खेतमै रोकिएको समेत वताए । अव केहि दिन भित्रै करार र भोलेन्टियरले प्रयोग गरेको क्वाटर खालि गरिने जानकारी दिए ।
कार्यालय सहयोगीको भरमा एक्स-रे
कार्यालय सहयोगीले एक्सरे गर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । एक्सरे प्रमुखले एक्सरे नगरी कार्यालय सहयोगिलाई एक्सरे गर्न लगाएको नाम नछाप्ने शर्तमा एक सेवाग्राहीले गुनासो गरेका हुन् ।
दैलेख अस्पतालमा निकै नै वेथिति रहेको अन्य जानकारहरु वताउँछन् । अस्पतालमा भनेको वेला औषधी नपाउने, खोजेको वेला कर्मचारी नहुने, कार्यालय सहयोगीले एक्सरे गर्ने, कर्मचारीले पाउनु पर्ने क्वाटर क्यान्टिनवालाले प्रयोग गर्ने लगाएतका वेथिति रहेको अस्पताल व्यवस्थापन समितिका एक सदस्यले हाम्रो तेस्रोआँखा दैनिकलाई वताए ।
निःशुल्क औषधी नपाएको गुनासो
जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै बिरामीहरूले औषधी नपाएको गुनासो गरेका छन् । अस्पताल पुग्ने बिरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन् ।
सरकारले वितरण गर्ने निःशुल्क औषधी समेत अभाव हुन थालेपछि बिरामीहरू निजी मेडिकलबाट चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन् । जिल्लाबाट औषधी माग हुँदा समेत प्रदेश र केन्द्रबाट औषधी पठाउन बेवास्ता गरेका कारण औषधी अभाव भएको हो ।
दैलेख जिल्ला अस्पतालमा प्रेसर, एलर्जी लगायत सामान्य औषधी लिन जाँदा समेत यताउता जानु भनेर अन्तिममा औषधी नदिएर स्वास्थ्यकर्मीले पठाएको दुःखेसो ज्येष्ठ नागरिक इद्रा थापाले पोखिन् ।
हिजोआज जिल्ला अस्पताल दैलेख पुग्ने बिरामीहरू अस्पतालमा प्राय औषधी सकिएकाले औषधी पाउँदैनन् । अन्ततः निजी मेडिकलमा चर्को मूल्य तिरेर औषधी किन्नुपर्ने बाध्यता रहेको छ ।
अस्पताल प्रशासनले प्रदेशदेखि केन्द्रसम्म औषधी माग गरे पनि औषधी नआईपुगेको स्वीकार गरेको छ । प्रदेश र केन्द्रले स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाहरूमा औषधी पठाउने गरे पनि जिल्ला अस्पतालमा पठाउन हेरचक्राई गर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।
जिल्ला अस्पतालमा केही औषधी अभाव रहे पनि अन्य औषधीहरू अभाव नभएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले बताए ।