करार शिक्षक हटाउँदै दुल्लु नगरपालिका

मातृभूमी संवाददाता । २२ चैत्र दैलेख
दैलेखको दुल्लू नगरपालिकाले अस्थायी, करार र ज्यालादारीमा रहेका ६७ जना शिक्षकलाई एकै पटक हटाउन लागेको छ । वैशाख १ गतेदेखि लागू हुने गरी शिक्षक हटाउने तयारी गरिएको दुल्लू नगरपालिकाका मेयर प्रमुख भरतप्रसाद रिजालले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा राखिएका शिक्षक कर्मचारीको खर्च धान्न नसकिने अवस्थामा पुगेको मेयर रिजालले वताउनुभयो ।
नगरपालिकाले संघिय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट बजेट व्यवस्थापन गरेर करार तथा ज्यालादारी शिक्षक र कर्मचारी भर्ना गरेको थियो । यसरी गरिएको खर्च बेरुजु देखिएपछि पालिका अहिले समस्यामा परेको र अन्य स्रोतबाट खर्च व्यवस्थापन गर्न नसकिने भन्दै शिक्षक तथा कर्मचारी नै हटाउने निणर्यमा पालिका पुगेको मेयर रिजालले जानकारी दिए । महालेखा परीक्षकको कार्यालयको परिपत्र अनुसार सूचना जारी गरी अस्थायी, करार र ज्यालादारीमा रहेका शिक्षकलाई बिदा गर्न लागिएको मेयर रिजालको भनाई ।
अस्थायी र करार शिक्षक हटाएर दरबन्दी मिलान गर्ने योजना रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख विकासजंग शाहीले बताए । दुल्लूमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या धेरै रहेको छ । प्राथमिक तहमा अन्य तहको तुलनामा ५० शिक्षक धेरै रहेको र निम्न माध्यमिक तहमा विद्यार्थी अनुपातमा शिक्षक कम रहेको शिक्षा शाखा प्रमुख शाहीले जानकारी दिए ।
तहगत रूपमा शिक्षक विद्यार्थीको तालमेल नमिलेको भन्दै शिक्षा शाखा प्रमुख शाहीले दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा समेत छलफल भइरहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *