नातिनी कुट्ने बज्यै प्रहरीकाे नियन्त्रणमा
मातृभूमी संवाददाता । २३ चैत्र दैलेख
चार वर्षकी नातिनीलाई कुटपिट गरेको आरोपमा दैलेख प्रहरीले बज्यैलाई पक्राउ गरेको छ । भगवतीमाई गाउँपालिका ६ चिपिनकी ४२ वर्षीया बज्यै लालसरा बुढालाई नातिनी कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बालबालिका बिरुद्धको कसूर मुद्दामा वुढालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भैरहेको दैलेख प्रहरीले जनाएको छ ।
बालिकाका बुबा विदेश गएको र आमाले अन्यत्र विवाह गरिसकेको अवस्थामा बालिकाको संरक्षण गरिरहेकी बज्यैले कुटपिट र दुव्र्यवहार गरिहेको भन्ने उजुरीको आधारमा वुढालाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्सपेक्टर दीपकसिंह बिष्टले जानकारी दिए ।
विवाह गरी अर्को ठाउँ गएकी बुहारीलाई पनि लिन नदिएको, बालिकाको मावलीमा पनि राख्न नदिएको तर बालिकालाई जोखिमयुक्त काम लगाउने, पेटभरी खान नदिने र कुटपिट गर्ने गरेको भनी परेको उजुरीमा भगवतीमाई गाउँपालिकाको स्थानीय न्यायिक समितिले समेत सचेत गराउँदा पनि अटेर गरेको कारण पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेमा उजुरी गरेका थिए ।
बुहारीले लैजान खोज्दा पनि लिन नदिई आफैसँग राखेकी नातिनी गीतालाई एक वर्षदेखि कुटपिट गरेको भन्दै स्थानीयले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र, सोसेक नेपालको बाल हेल्पलाइन, भगवतीमाई गाउँपालिकाको स्थानीय न्यायिक समितिमा पटक-पटक गुनासो गरेका थिए । बज्यै लालसराको कुटपिटबाट बालिकाको निदार, ढाड, कम्मर, पिठ्यू लगायत शरीरभरी घाउचोट लागेको छ । कोही-कोही पुराना घाउहरु देखिएपछि सहन नसकेर उजुरी गरेको पीडित पक्षले वताएका छन् ।
बालिकालाई दैलेख अस्पतालमा उपचार गरेपछि सोसेक नेपालका बाल हेल्पलाइनमा संरक्षणका लागि राखिएको छ । बालबालिकालाई कुटपिट, दुव्र्यवहार गरिएको घटनामा प्रहरीमा उजुरी दर्ता भएको दैलेखमा यो पहिलो घटना हो ।
बालबालिकाहरुलाई सबै अभिभावकले राम्रो संरक्षण गर्नू अभिभावकको दायित्व हुन्छ भन्ने सन्देश दिनका लागि पनि मुद्दा चलाइएको दैलेखका डिएसपी किशोर लम्सालले बताए ।