सुकुम्वासीलाई जग्गाको निस्सा वितरण
मातृभूमी संवाददाता । ०५ बैशाख दैलेख
दैलेखको नारायण नगरपालिका भित्र बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई निस्सा वितरण गरिएको छ । लामो समयदेखी सार्वजनिक जग्गामा बसिरहेका नारायण नगरपालिकाका भूमिहीन सुकुम्वासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखले निस्सा वितरण गरेको हो ।
भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूलाई नारायण नगरपालिकाले जारी गरेको सूचना अनुसार निवेदन दिएका ३ सय ४ जनाको पहिचान गरी निस्सा वितरण गरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखका अध्यक्ष नयाँराम थापाले जानकारी दिए ।
नारायण नगरपालिकामा रहेका र हाल सम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । उनले नारायण नगरपालिकाका भूमिहीन दलित ५७ जना, भूमिहिन सुकुम्वासी भएका १५ जना र अव्यवस्थित बसोबास गरिरहेको २ सय ३२ जना गरी ३ सय ४ जनालाई निस्सा वितरण गरिसकेको जानकारी दिए ।
उनले भने भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई निस्सा वितरण पश्चात् नारायण नगरपालिकाले कार्यपालिका बैठकबाट निणर्य गरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिलाई पत्र पठाए पछि काम अगाडी बढ्ने वताए ।
नगरपालिकाले निणर्य गरी पठाए लगत्तै राष्ट्रिय भूमि आयोग जिल्ला समितिले सात दिने हक दाबी सूचना प्रकाश गर्ने र सुकुम्वासीहरूको तीन पुस्ते बुझ्नका लागी मालपोत कार्यालय पत्र लेखि पठाए पछि जग्गा नाप जाँचको काम सुरु हुने अध्यक्ष थापाले जानकारी दिए ।