दैलेखमा बर्षेनी बालविवाह बढ्दै

मातृभूमी संवाददाता । १० वैशाख दैलेख
दैलेखमा बालविवाह गर्नेको संख्या बर्षेनी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्यांक अनुसार जिल्लामा बालविवाह गर्नेको संख्या वर्षेनी वढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आर्चायले बालविवाह गर्नेको संख्या बढ्दै गएको जानकारी दिए । उहाँले आ.व. २०७६/०७७ मा १, आ.व. २०७७/०७८ मा ५, आ.व. २०७८/०७९ मा ७, र आ.व. २०७९/०८० को वैशाख ४ गते सम्म ६ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।
उनले बालविवाह भयो भनेर नागरिकले खबर गरेपछि प्रहरी गएर समातेर ल्याउने र पछि दुवै पक्षका अभिभावकले आफ्ना छोराछोरी बुझेर लिने गरेका कारण प्रहरीमा बालविवाहका उजुरी कम दर्ता हुने गरेको वताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको मानव अधिकार वर्ष पुस्तकमा भने बालविवाह गर्नेको संख्या बढ्दै गएको उल्लेख छ । मानव अधिकार वर्ष पुस्तकमा सन् २०२० मा ७, सन् २०२१ मा ७, सन् २०२२ मा ११ वटा बालविवाह भएको उल्लेख भएको इन्सेकका जिल्ला प्रतिनिधि अम्मर सुनारले वताए ।
उनले जातीय छुवाछुत, घरेलुहिंसा न्यूनीकरणका लागी स्थानीय सरकारले विभिन्न कार्यक्रमहरू गरेको भए पनि बालविवाह न्यूनीकरणका लागी कुनै पनि सरकारी निकायबाट काम नभएको बताए । उनले बालबिवाहका मुद्धा अन्तरजातीय, आर्थिक हैसियत नमिल्ने लगायतका समस्या देखिएको खण्डमा मात्र प्रहरीमा उजुरी आउने गरेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *