राउटे समुदायको व्यवस्थापन गर्न माग

मातृभूमी संवाददाता । ११ बैशाख दैलेख
जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । तीनै तहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्ने वताए । सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने जिन्सी सामान प्रदान गर्नुपर्ने र नगद कारोबार बन्द गर्नुपर्ने भन्दै तीनै तहका सरकार यो विषयमा गम्भीर हुनुपर्ने नगरप्रमुख शार्माको भनाई छ ।
दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताए । उनले सरकारले पौष्टिक आहारको व्यवस्थासँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिन जरुरी रहेको वताए ।
सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुलाई विस्तारै-विस्तारै आत्मनिर्भर अभियानमा जोड्न उनले सुझाव दिए ।
यस्तै स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर नगद दिनुको सट्टा विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधि लगायतका वस्तुको सहज उपलब्ध गराउनुपर्ने बताए ।
उनले तीनै तहका सरकारले विशेष निगरानी गर्ने टोली परिचालन गर्नुपर्ने नत्र राउटेको अस्तित्व सङ्कटमा पर्न सक्नेतर्फ सचेत गराए ।
अहिले राउटे समुदाय दैलेख दुल्लु नगरपालिका वडा नं. १० को नाभिस्थान जंगलमा वस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *