प्रहरी युनिटमा नागरिक सहजकर्ता
मातृभूमी संवाददाता । ०१ जेष्ठ दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षित कर्णाली प्रदेश विशेष अभियान २०८० अन्तरगत जिल्लाका सबै प्रहरी युनिटमा नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटमा सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक सहजकर्ता अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले दुर्गम ठाउँबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा लिँदा कुनै दुबिधा नहोस् भनेर उक्त अभियान सुरु गरिएको वताए । प्रहरीमा सेवा लिन पुग्ने सेवाग्राहीलाई सहजीकरण गर्ने उद्देश्यले प्रहरी युनिटको गेटमै नागरिक सहजकर्ता राखिएको डिएसपी लम्सालले जानकारी दिए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले प्रहरीले दिने सेवा सरल, मर्यादित, समान र निष्पक्ष बनाउने उद्देश्यले उक्त अभियानको सुरुवात गरिएको वताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले नागरिकको सुरक्षामा खटिने प्रहरी नै पहिला सुरक्षित हुनु पर्ने बताए ।