शैक्षिक वेथिति श्रृंखला-२ : त्रिभुवन माविमा किताब किन्नै पर्ने, परिक्षा शुल्क पनि उठाउँदै
मातृभूमी संवाददाता । १० जेठ दैलेख
दैलेख सदरमुकाममा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीले किताव किन्नु पर्ने वाध्यता रहेको छ । त्रिभुवन माविमा नेपाली माध्यमबाट पढ्ने विद्यार्थीलाई निःशुल्क किताब दिए पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीले किन्नु वाध्यता भएको हो ।
उक्त विद्यालयले अंग्रेजी र नेपाली माध्यमबाट पढाउने गरेको छ । गाउँबाट सदरमुकाममा कोठा लिएर पढ्न बस्दा बोर्डिङ भन्दा बढी खर्च लागिरहेको कक्षा ९ का विद्यार्थी राजकुमार शर्माले वताए । किताब, कापीकलम, झोला र ड्रेस गरेर झण्डै १० हजारभन्दा बढी खर्च भएको शर्माले वताए ।
घरको आर्थिक अवस्था कमजोर भएपनि राम्रो पढाइ हुन्छ भनेर बजार आएपनि पैसा नै नपुग्ने अवस्था सृजना भएको शर्माले गुनासो गरे । विद्यालयले निःशुल्क भर्ना गरेपनि किताव भने बजारबाट किन्नु परेको र ३ दाजु बहिनीका लागि किताब किन्न झन्डै ४ हजार रुपैयाँ लागेको शर्माले वताए ।
वुवा रोजगारीका लागि भारत गएको भन्दै वुवाले भनेको वेला पैसा पठाउन नसकेको र आमासँग पनि पैसा नभएपछि आमाले छिमेकीसँग सापटी मागेर किताब किनेको शर्माले दुखेसो पोखे । किताब र अन्य शैक्षिक सामग्रीमा विपन्न परिवारका बालबालिकाहरूका लागि बर्सेनि ठूलो रकम खर्च हुने गरेको शर्माकी फूपु आशा काफ्लेले बताईन् । पुस्तक व्यवसायीले पूरै सेट किताब नआएको भन्दै बिल पनि दिने गरेका छैनन् ।
त्रिभुवन माविले परीक्षा खर्चका नाममा प्रति परीक्षा प्रति विद्यार्थी २ सय ५० रुपैयाँ दरले शुल्क उठाउने गरेको अभिभावकहरुले वताएका छन् । प्रधानाध्यापक निरक तारामी अंग्रेजी माध्यम भएकाले विद्यालयले खर्च धान्न नसकेपछि विद्यार्थीलाई किताब किन्न लगाएको बताए ।
विद्यालयले पाठ्यपुस्क किन्न नसक्ने भएपछि अभिभावकले राजी भएर किताब आफैं किन्न थालेको दावी गरे । कक्षा ९ का लागि अंग्रेजी माध्यमका किताब किन्न २ हजार ६ सय रुपैयाँ लाग्ने प्रधानाध्यापक तारामीले जानकारी दिए । किताव किन्न लाग्ने खर्च मध्ये विद्यालयले १ हजार १ सय तिर्ने र बाँकी रकम अभिभावकले तिर्ने गरेको प्रधानाध्यापक तारामीले स्वीकार गरे ।
नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख पूणर्प्रसाद उपाध्यायले अभिभावकले पनि आफूलाई गुनासो गरेको बताए । नगरपालिकाबाट किताब किन्नका लागि रकम सबै विद्यालयमा गएको र प्रधानाध्यापकलाई सोध्दा हल्ला मात्र भएको भन्दै यसबारे आवश्यक खोजीनिती गरिरहेको उपाध्यायले जानकारी दिए ।
नेपालको संविधानको धारा ३१ को उपधारा २ मा ‘प्रत्येक नागरिकलाई राज्यवाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनिएको छ । तर त्रिभुवन नमुना माध्यामिक विद्यालय दैलेख वजारले संविधानको उल्लंघन नै गरेर विद्यार्थीवाट प्रति परिक्षा प्रति विद्यार्थी २ सय ५० शुल्क र विद्यार्थीलाई किताव किन्न लगाउने गरेको छ । यस विषयमा पटक-पटक जानकारी गराउँदा पनि नारायण नगरपालिका दैलेखका मेयर लोमन शर्मा मौन देखिन्छन् ।