बाल अधिकार र युवा प्रर्बद्धनका लागी प्रतिबद्धता
मातृभूमी संवाददाता । १२ जेठ दैलेख
बाल अधिकार र युवा प्रर्बद्धनका लागी १६ बुँदे प्रतिबद्धता गरिएको छ । जिल्लाका ११ स्थानीय तह र बालबालिका र युवा सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरूले बाल अधिकार र युवा प्रर्बद्धनका लागी १६ बुँदे प्रतिबद्धता गरेका हुन् ।
बाल अधिकार महासम्धी १९८९, दिगो विकास लक्ष्य, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५ र नियमावली २०७८, राष्ट्रिय युवा नीति २०७२, यूथ भिजन २०२५ तथा १० वर्षे रणनीति योजना र संघीयताको मर्म अनुसारको बाल अधिकार र युवा प्रवद्र्धन गर्न उक्त प्रतिबद्धता गरिएको बताइएको छ ।
बालबालिका तथा युवा सम्बन्धी ऐन र उल्लेखित कानुन बमोजिम बालमैत्री, युवामैत्री, अपाङ्गतामैत्री नीति तथा कानुन निर्माण,स्थानीय तहमा बाल कल्याण अधिकारी नियुक्त गर्ने, बालकोषको स्थापना लगायतका प्रतिबद्धता गरिएको छ ।
जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख एवं कार्यवाहक प्रमुख केशव बहादुर शाहीले बालबालिका तथा युवा सम्बन्धी बनेका ऐन नियमलाई पूणर् रूपमा कार्यान्वयन गर्न सबै निकाय जिम्मेवार बन्नु पर्ने बताए । उनले तीनै तहका सरकारले आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले स्थानीय सरकारले केही कानुन निर्माण गरेका भए पनि सहज कार्यान्वयन हुन नसेकेको बताए । उनले स्थानीय सरकारले संवैधानिक अधिकार अनुसार कानुन निर्माण गरी कार्यान्वयन गर्दै नागरिकको स्थानीय सरकार प्रति विश्वास बढाउनुपर्नेमा जोड दिए ।
स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक व्यवस्था अनुसार ५२ वटा कानुन बनाउन पाउने व्यवस्था भए पनि २०७४ मा स्थापना भएका गाउँका सरकारले कानुन निर्माण तथा कार्यान्वयनतर्फ चासो नदेखाएको नागरिकहरुले गुनासो गरेका छन् ।