शान्ति सुरक्षा लागि नागरिककाे सहयोग आवश्यक : पुर्वसांसद शर्मा
मातृभूमी संवाददाता । ३१ असार दैलेख
प्रतिनिधिसभाका पूर्वसांसद रबिन्द्रराज शर्माले शान्ति, सुरक्षाका लागि नागरिकहरुले पनि आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला सदरमुकाममा आइतवार आयोजना गरेको नारायण नगर स्तरीय कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्ताे वताएका हुन् । पूर्वसांसद शर्माले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियानले नागरिक र प्रहरीबीच सम्वन्ध प्रभावकारी बनाउने यसले नागरिकहरुको सुरक्षा प्रत्याभूती गराउन मद्दत पुग्ने शर्माकाे भनाइ थियाे ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियानले लुकेका घटनाहरु उजुरी प्रक्रिया आउने र अपराध नियन्त्रणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे । उनले अभियानले प्रहरीले थेग्न नसक्ने गरी सूचना र सिकायतको संख्या बढ्ने औल्याउदै फोनको जवाफदेहिता बढाउन प्रहरीलाई सुझाव दिए । प्रमुख जिल्ला अधिकारी हमालले अभियानको प्रचारप्रसारमा पत्रकारहरुको सहयोग चाहिएको बताए ।
दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले महिला, बालबालिका र ज्येष्ठ नागरिक माथि हुने हिंसाका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी बनाइँदै लिइने बताए । उनले दैलेखमा २८ वटा प्रहरी इकाई मार्फत ५४ हजार घरधुरीमा स्टीकर टाँस्ने र घर–घरको बिवरण ल्याउने योजना रहेको वताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली प्रदेशको घरदैलो स्टीकर अभियान २०८०’ नाम दिई सञ्चालन गरिएको यो कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लाका तीन लाख ७१ हजार घरधुरीमा पुग्ने बताइएको छ । अपराध र विपदको समयमा प्रहरी तथा नागरिकबीच छिटो सूचनामा पहुँच बढाउने, प्राप्त सूचनाका आधारमा अपराध नियन्त्रणमा प्रभावकारिता बढाउने, अपराधी पक्रन र पीडितको न्याय छरितो बनाउन, नागरिकहरुको सुरक्षा प्रत्याभूती बढाउने अभियानको मुख्य उद्देश्य राखिएको छ ।