कर्णालीका ४ सय ४० पशुपालक कृषकले पाए गोठालो भत्ता

मातृभूमी संवाददाता । १० श्रावण सुर्खेत
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा ४ सय ४० जना पशुपालन कृषकलाई ‘गोठालो भत्ता’ वितरण गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय अन्तरगतको पशुपक्षी विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा उक्त संख्यामा कृषकलाई भत्ता वितरण गरिएको हो ।
निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनीका अनुसार गत आ.व.मा हुम्ला, मुगु, जुम्ला र डोल्पामा कार्यक्रम लागु भएको थियो । ४ सय ४० कृषक तथा गोठालोलाई ६८ लाख ७३ हजार रुपैयाँ भक्ता वितरण गरिएको हो । जस अन्तरगत जुम्लाका २ सय २५ कृषकलाई ३३ लाख वितरण गरिएको छ भने मुगुमा ५३ कृषकलाई १० लाख ५० हजार वितरण गरिएको छ ।
यस्तै डोल्पामा ५३ कृषकलाई ९ लाख ५४ हजार र हुम्लाका १ सय ९ कृषकलाई १५ लाख ६९ हजार रकम वितरण गरिएको छ । कृषकलाई व्यावसायिक रूपमा पशुपालनतर्फ अग्रसर गराउनमा लागि ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिएको थियो । कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्य सहित उक्त कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि लागु भएको यो कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागु गर्ने भनिए पनि गत आ.व.मा साबिक कर्णालीका चार वटा जिल्लाहरूमा मात्र लागु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *