सामाजिक न्यायको लागि मिडियाको भूमिका महत्वपूर्ण
मातृभूमी संवाददाता । १५ श्रावण दैलेख
जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव बहादुर शाहीले आमसञ्चार माध्यमहरुले सामाजिक न्यायको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा वोल्दै उनले यस्तो वताएका हुन् ।
‘रेडियो मातृभूमीले एक वर्ष अवधिमा आवाज विहीनहरुको आवाज बनेको र सूचना तथा सञ्चारमा रचनात्मक भूमिका खेलेको छ । रेडियोले आगामी दिनमा अझैं धेरै प्रगति गर्दै जाओस्’ भन्दै उपप्रमुख शाहीले रेडियोलाई शुभकामना समेत दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले नेपाली पत्रकारिता अभाव र असहजतामा गुज्रिएको बताउँदै पत्रकारीतामा आउन चाहेका प्रशिक्षार्थीहरुलाई दृढता र आत्मबिश्वासका लागि व्यवसायिक पत्रकारितामा जुट्न आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुस्कर थापाले पत्रकारिता जति चुनौतीपूणर् त्यति अवसर र सम्भावनाहरु पनि रहेको बताए । रेडियो मातृभूमिका प्रवन्ध निर्देशक भीम सिजापति, पत्रकार अमर सुनार र भरतराज अधिकारीले पनि दैलेखको पत्रकारिता र प्रशिक्षार्थी पत्रकारहरुसंग गरिएको अपेक्षा बारे आ-आफ्नो भनाई राखेका थिए ।
रेडियो मातृभूमीले एक वर्ष पूरा गरेको अवसरमा आयोजना गरिएको एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिममा ९ महिला सहित २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिममा पत्रकारिता सम्वन्धी आधारभूत सैद्धान्तिक ज्ञानसंगै प्रयोगात्मक अभ्यास गराइने प्रमुख प्रशिक्षक अमर सुनारले बताए ।