राष्ट्रिय परिचय पत्र बनाउन वडा अभियान संचालन
मातृभूमी संवाददाता । २७ भाद्र दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडा अभियान सञ्चालन गरेको छ । गृह मन्त्रालयको परिपत्र अनुसार दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि वडा अभियान सञ्चालनमा गरेको हो । राष्ट्रिय परिचय पत्र बनाउन अभियान पहिलो चरणमा नारायण नगरपालिकाका ११ वटा वडाबाट सुरु गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेश प्रसाद कोइरालाले बताए ।
राष्ट्रिय परिचय पत्र बनाउनका लागि प्रशासनसम्म पुग्न समस्या पर्ने नागरिकलाई यस अभियानले सहजता प्रदान गर्ने जनाइएको छ । राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएदेखि हालसम्म दैलेख प्रशासनमा करिब २१ हजार मात्र निवेदन परेको सूचना अधिकारी कोइरालाले बताए । उनले सरकारले सञ्चालन गरेको यस अभियानले ग्रामीण भेगका नागरिकलाई सहजता प्रदान गर्ने बताए ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले यस अभियानले ग्रामीण भेगका नागरिकलाई सेवा लिन सहज हुने बताए । उनले राष्ट्रिय परिचय पत्र बनाउनका लागि प्रशासन धाउनुपर्ने बाध्यतामा रहेका जेष्ठ नागरिक अपाङ्ग लगायतका व्यक्तिलाई सहजता हुने धारणा राखे । नगरप्रमुख शर्माले वडा वडामा फोटो सहितको राष्ट्रिय परिचय पत्र सञ्चालन अभियानको मुख्य उद्देश्य कोही नछुटुन् भन्ने रहेको बताए । नारायणबाट सञ्चालन भएको अभियानले यहाँका नागरिकलाई सहजता प्रदान गर्ने नगरप्रमुख शर्माले बताए ।
राष्ट्रिय परिचय पत्रलाई अन्तरराष्ट्रिय मापदण्डको डिजिटल कार्ड हो । राष्ट्रिय परिचय पत्रमा बाहकको दश औँठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिएका हुन्छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुने सूचना अधिकारी कोइरालाले बताए ।