प्रधानमन्त्री प्रचण्ड (आज) शनिवार अमेरिका जाँदै

मातृभूमी संवाददाता । ३० भाद्र काठमाण्डाै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा भाग लिन (आज) शनिवार अमेरिका जाँदै छन् । उनले आउँदो बुधवार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुने कार्यक्रम छ ।
त्यस्तै, संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ । उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायतका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम तय भएकाे छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषि लगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *