एभरेष्ट क्लवको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट कर्मचारीलाई सम्मान

मातृभूमी संवाददाता । ०५ असोज दैलेख
एभरेष्ट क्लव दैलेखको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न वार्षिक साधारण सभामा संस्थाका कार्यकारी निर्देशक दिपक कुमार शाहीले संस्थागत अवधारणा र अवस्थाको वारेमा तथा संस्थाका कोषाध्यक्ष कमला थापा योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ५२ लाख ८८ हजार ५८ रुपैयाँको सम्झौता भएकोमा ११ करोड १४ लाख ६१ हजार ४ सय ८० रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको लक्ष्य, उद्देश्य र रणनितिक योजना अनुसार सेवा प्रवाहको लागि १२ करोड ८२ लाख ४५ हजार ४ सय रकम विनियोजन गरिएको जनाईएको छ । उक्त विनियोजित रकमवाट संस्था संचालन, कर्मचारी परिचालन तथा समुदायमा सेवा प्रवाह गर्नका लागि ७ करोड ६९ लाख ४७ हजार २ सय ४० रुपैयाँ विनियोजन गरिएको संस्थाका कोषाध्यक्ष कमला थापा योगीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै १७ सदस्यीय कार्य समिति रहेको एभरेष्ट क्लव दैलेखमा १ सय ५५ जना साधारण सदस्य रहेका छन् । संस्थावाट आर्थिक वर्ष २०७९/०८० मा दैलेख जिल्लाका ५८ हजार ३६ जना लाभान्वित भएकोमा २ हजार १ सय ९ जना फरक क्षमता भएका नागरिक लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै विभिन्न ७ वटा साझेदार निकायसँगको साझेदारीमा एभरेष्ट क्लव दैलेखले दैलेख जिल्लाका ११ वटै पालिकामा झण्डै एक दर्जन वढि कार्यक्रम तथा परियोजनाहरु संचालनमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
एभरेष्ट क्लव दैलेखले दातृ निकाय, स्थानीय सरकार, सरकारी निकायहरुको सहयोग र आन्तरिक श्रोत परिचालनवाट महिला, वालवालिका, सिामान्तकृत वर्गको जिविकोपार्जनमा सहोग, रोजगार तथा स्वरोजगार सिर्जना, कृषि, खानेपानी, जलवायु अनुकुलन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लघु पुर्वाधार विकास, पोषण, वाल विवाह न्युनीकरण, महिला तथा वाल अधिकार, किशोर किशोरी तथा प्रजनन् स्वास्थ्य, मातृ शिशु स्वास्थ्य सुधार, पुणर् सरसफाई तथा छाउपडी जस्ता सवालहरुमा जनचेतनामुलक अभियानहरु संचालन गर्ने र दैविप्रकोप तथा आपतकालिन सहयोग लगायतका कार्यक्रमहरु संचालन गरीरहेको एभरेष्ट क्लव दैलेखका अध्यक्ष लछुमन श्रेष्ठ (राजु) ले जानकारी दिए ।
वार्षिक साधारण सभामा संस्थामा कार्यरत उत्कृष्ट ७ जना कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाका कर्मचारीहरु नितन थापा, अशिम थापा, राज कुमार खत्री, भुपेन्द्र खत्री, वावुराम आचार्य, लक्ष्मी चलाउने र अनुप थापालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *