प्रधानमन्त्री प्रचण्ड हाङझाउबाट बेइजिङ जाँदै

मातृभूमी राजनितिक व्युरो । ०७ असोज काठमाण्डौ
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतवार हाङझाउबाट राजधानी बेइजिङ जाँदै छन् । उनी आइतवार बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उनी बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ ।
आइतवार दिउँसो ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ । यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
सोमवार प्रधानमन्त्री प्रचण्डको समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ । शनिवार प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो । प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो ।
नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पारेका थिए । यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका थिए ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट सिधै चीन पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड सहितको टोली सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *