प्रधानमन्त्री प्रचण्डलाई चीनद्धारा ‘गार्ड अफ अनर’ प्रदान

मातृभूमी संवाददाता । ०८ असोज काठमाण्डौ
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । ग्रेट हल अफ दि पिपलमा भेटवार्ता शुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।
उनीहरूबीच नेपाल-चीन सम्बन्धका विविध पक्ष एवम् द्विपक्षीय हित र चासोका विषयमा विचार विमर्श भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउद सहित नेपाली प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवम् सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल-चीन सम्बन्ध सन् १९५५ मा औपचारिक रूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै शुरु भएको उल्लेख गरे । उनले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भइ नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले ‘एसियन गेम्स’ को सफलता पूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गरे ।
त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानतामा आधारित रहेको चर्चा गर्दै नेपाल-चीन पञ्चशीलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उनले बताए । अध्यक्ष चाओले नेसनल पिपल अफ कङ्ग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्रीलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *