मंगोलियाविरुद्ध नेपालको कीर्तिमान नै कीर्तिमान

मातृभूमी संवाददाता । १० असोज काठमाण्डौ
१९औँ एसियाली खेलकुद, २०२२ अन्तरगत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ । वुधवार सम्पन्न खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको हो । पुरुष ट्वान्टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा यही नै रन अन्तरको अहिलेसम्मको ठूलो जित हो ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । ट्वान्टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले ३ सय रन बनाएको पहिलो पटक हो ।
नेपालले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो । उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
यसअघि मंगोलिया विरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए । यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए । उनीहरुले ३५ बलमै शतक बनाएका थिए । मल्ल र पौडेलले आफ्नो अर्धशतक समान १९ बलमा बनाएका थिए ।
दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए । नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *