स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी

मातृभूमी संवाददाता । १६ असोज काठमाडौँ
सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको आन्दोलन आज पनि जारी रहेको छ । सोमवारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनरत छन् ।
आज मंगलवार पनि काठमाडौंको माइतीघरमा स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । सङ्घर्ष समितिका संयोजक दीपक गौतमका अनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषा भित्र समेटिनु पर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनु पर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनु पर्ने लगायतका माग छन् । उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर, अन्तर प्रदेश सरुवा लागू गर, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर लगायतका प्लाकार्ड बोकेर विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *