न्यायिक समितिमा घरेलु हिंसा र लेनदेनका उजुरी धेरै

मातृभूमी संवाददाता । १८ असोज दैलेख
दैलेखको गुराँस गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म १४ वटा उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको अढाई महिनामा १४ वटा उजुरी दर्ता भएका हुन् । न्यायिक समितिका संयोजक उपाध्यक्ष सिवाकुमारी खड्काले साउनदेखि हालसम्म १४ वटा उजुरी दर्ता भएको बताईन् ।
न्यायिक समितिमा आएका उजुरीमध्ये ५ वटा मुद्दा मिलापत्र भएका छन् । गाउँपालिकामा न्यायिक समितिमा आएकामध्ये सबैभन्दा धेरै ७ उजुरी लेनदेनका रहेको संयोजक खड्काले बताएकी छन् । जग्गा विवाद बाटोघाटो, घरायसी झै-झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका मुद्दा न्यायिक समितिमा आउने गरेको उपाध्यक्ष खड्काले वताईन् ।
गाउँपालिकामा गत आर्थिक वर्षमा न्यायिक समितिमा ५८ उजूरी दर्ता भएका थिए । त्यसमध्ये न्यायिक समितिको निणर्यबाट २९ र मेलमिलापको माध्यमबाट १५ वटा गरी ४४ मुद्दा मिलापत्र गरिएको थियो ।
गतवर्ष परेका मुद्दामध्ये १५ वटा घरेलु हिंसाका मुद्दा न्यायिक समितिमा परेका थिए । न्यायिक समितिमा आएका उजूरीलाई मेलमिलापको नीति अपनाएर मिलाउने गरिएको संयोजक खड्काले जानकारी दिईन् । गाउँपालिकाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन उजूरी प्रशासक समेत नियूक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *