आठवीस नगरपालिकाका कर्मचारीहरू आन्दोलित
मातृभूमी संवाददाता । १९ असोज दैलेख
दैलखको आठवीस नगरपालिकामा कार्यरत करारका कर्मचारीहरु आन्दोलित भएका छन् । नगरप्रमुख तर्कबहादुर बडुवालले कर्मचारीलाई हाजिरी नलगाउन भनेपछि नगरपालिका भित्रका शिक्षक, स्वास्थ्यकर्मी, नगर तथा वडाका अन्य शाखामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् ।
नगरप्रमुखले एकोहोरो निणर्य गरेर कर्मचारी हटाउन लागेको करारका कर्मचारीहरुले आरोप लगाएका छन् । पालिकाले काम गर्न पठाउने तर प्राविधीक समस्या देखाएर हाजिरी लगाउन रोकेको उनीहरुको भनाई छ । चालु आर्थिक वर्षको साउनबाट कर्मचारीको म्याद थप नगरेको र नगरप्रमुखले एक महिना मात्र म्याद थप गर्न सकिने बताएको संघर्ष समितीका संयोजक शिवराज थापाले बताए ।
नगरप्रमुख बडुवालको एकोहोरो निणर्यले आफुहरुलाई हटाउन लागेपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ । नगरपालिकामा रहेका करारका शिक्षकले गत आर्थिक वर्षको ३ महिनाको तलब समेत नपाएको गुनासो गरेका छन् ।
नगरप्रमुख बडुवालले पालिकामा बजेट अभाव हुँदा शिक्षकको तलब रोकिएको बताए । उनले रोकिएको तलब चालु आर्थिक वर्षको बजेटबाट दिने जानकारी दिए । चालु आर्थिक वर्षबाट करारका कर्मचारीको कार्य विभाजन गरी अन्य शाखामा खटाउने निणर्य गरेको नगरप्रमुख बडुवालले बताएका छन् ।
असार ३० गते कर्मचारीको कार्य विभाजन गरी नगरपालीकाका निमित्त प्रमुखलाई सूचना दिएको तर कार्यान्वयनमा नल्याएको नगरप्रमुख वडुवालले वताए । नगरपालीकामा कर्मचारीको आवश्यकता रहेको तर कुरा नबुझेर आनदोलन गर्ने, असहज बातावरण श्रृजना गर्ने कर्मचारीहरुलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्ने चेतावनी नगरप्रमुख वडुवालको छ ।