दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र
मातृभूमी संवाददाता । २१ असोज दैलेख
दैलेखमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार लगायतको संयुक्त टोलीले डुङ्गेश्वर गाँउपालिका वडा नं-१ चुप्रा बजारमा अनुगमन गरेको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमनलाई तीव्रता दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख कल्पना खत्रीले जानकारी दिइन् ।उनले भनिन् ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ ।
अनुगमनका क्रममा डुङ्गेश्वर गाँउपालिका वडा नंं- १ चुप्रा बजारमा नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढग तराजु , होटल, थोक तथा किराना पसलको अनुगमन गरेको म्याद गुज्रेका प्रकारका पे-पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको ’ उनले भनिन् । बजारमा अनुगमनका क्रममा प्यान नम्बर नराख्ने व्यवसायीलाई एक हप्ताभित्र प्यान नम्बरको व्यवस्था गर्न निर्देशन दिइएको समेत कार्यालय प्रमुख खत्रील बताइन् ।
बजारमा अनुगमनमा डुङ्गेश्वर गाँउपालिका वडा नं-१ का वडाध्यक्ष श्याम बहादुर राना, जिल्ला कारागार दैलेखका प्रमुख जित बहादुर खत्री, डुङ्गेश्वर गाँउपालिका वडा नंं- १ का वडासचिब संगिता लामिछाने, उद्योग तथा उपभोक्ता हित संरक्षण दैलेखका लेखा सहायक भरत खत्री, जिल्ला प्रशासन कार्यालय दैलेख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।