ठेकेदारको लापरबाहीलका कारण पुल निर्माण अलपत्र


मातृभूमी संवाददाता । २१ कात्तिक दैलेखः
महावु गाउँपालिका वडा नं ४ र ५ जोड्नलाई रबट खोलामा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । ६ पटकसम्म परिपत्र गर्दा विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण पुल बन्न नसकेको हो । खोलाको एकातिर पुलको केही संरचना तयार पारेर यसै छाडिएको छ ।

पुल निर्माणका लागि २०७८ सालमै ३ करोड २५लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो भने २०७८ सालदेखि नै निर्माण थालिएको थियो । आर्थिक वर्ष २०८०भदौ१३ गते सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म पुलको काम ज्यूँका त्यूँ रहेको छ ।

प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले ठेक्कामार्फत निर्माण सुरु गरेको पक्की पुल निर्माणको जिम्मा लिएको जलजला जयमा स्वर्गद्वारी निर्माण सेवाले समयमै काम नगरेपछि यात्रा गर्न समेत असहज भएको महावु गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर शाहीले बताए। पटक-पटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूणर्ता नदिएपछि योजना कार्यान्वयन गर्ने कार्यालय, सम्बन्धित निर्माण व्यवसायी ध्यानाकर्षण गराइएको उनले बताए ।

कछुवा गतिमा काम भएको पुल निर्माण स्थलमा अहिलेसम्म एउटा पिल्लर बनेको छ । ३ करोड २५ लाख ६ हजार ५सय ९१ रुर्पौया लागतमा निर्माण गर्नुपर्ने पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।

पुल निर्माण गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरिएको पूर्वधार कार्यालयका पूर्वाधार दैलेखका सवं-इन्जिनियर पारस डाँगीले बताए । पुल निर्माणमा भएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ । सवं-इन्जिनियर डाँगीले भने सम्बन्धित ठेकेदार कम्पनीसँग निरन्तर सम्पर्क भइरहेको छ । यदि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नगरे कानूनी कारबाही गर्छौँ । अन्तिमपटक म्याद थपको तयारी गरिएको र अब पनि काम नगरे कालो सूचीमा राख्नको लागि सिफारिस गर्ने तयारी भएको उनले जानकारी दिए ।

स्थानीयको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गरेको सुनुवाई नभएको महाबु गाँउपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु कुमारी पाण्डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *