दैलेखका सुजन रावतको अन्त्यष्टि
मातृभूमी संवाददाता । १७ पुष दैलेख
ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको आज अन्त्यष्टि गरिएको छ । सुर्खेतसम्म हवाईजहाज र सुर्खेतदेखि हेलिकप्टरमा सदरमुकाम ल्याइएपछि आज श्रीस्थानमा अन्त्यष्टि गरिएको हो । महाबु गाउँपालिका ६ रानीवन घर भए पनि जन्मेका र बसोबास समेत जिल्ला सदरमुकाममा भएकोले सदरमुकामबाट श्रीस्थानमा अन्त्यष्टि गरिएको हो ।
हिन्दू धार्मिक परम्परा अनुसार काजकिरिया थालिएको परिवारजनले बताएका छन् । कोरिया रोजगारको लागि आवेदन भर्ने विषयको विवादमा युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दैलेखका सुजन र अछामका बीरेन्द्र शाहका परिवारजनसँग नेपाल सरकारले सोमवार चार वुँदे सहमति गरपछि परिवारजनले मंगलवार नै काठमाण्डौंमा शव बुझेका थिए ।
नेपाली सेनाको हेलिकप्टरले दैलेखस्थि कालिदत्त गुल्ममा शव पुर्याए लगतै गुल्मको गेटदेखि तीन सय मीटर दूरीमा रहेको सुजनको घरमा पुर्याईएको थियो । शवयात्रामा सयौंको सहभागिता रहेको थियो । रोजगारीका लागि काठमाण्डौं पुगेको बेला मृत्यू भएको खवरले सबैको सद्भाव थियो ।
तेह्र महिना अघि बुबा भक्तबहादुर रावतको मृत्यूपछि विधवा आमा, एक बहिनी र एक भाईको भरोसाको खम्बा ठानिएको युवाको रोजगारीको खोजीको क्रममा प्रहरीको गोलीबाट मृत्यू भएको घटनाले सरकारप्रति सबैतर्फबाट आक्रोस पोखिएको थियो । मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमतिमा मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक-एक जना सदस्यलाई रोजगारी दिने, शव सम्वन्धित जिल्लासम्म पठाईदिने र उचित राहत सहयोग दिने सहमति भएको थियो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयको सहसचिव उमाकान्त अधिकारी र मृतकका आफन्तहरु बीरेन्द्रका बुबा टेकबहादुर शाह तथा सुजनका मामा टेकबहादुर कटुवालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजन र अछामका बीरेन्द्रको ज्यान गएको थियो ।