राउटे समुदायको मागः  माघी अघि भत्ता चाहिने

मातृभूमी संवाददाता । १९ पुस दैलेखः 

राउटे समुदायकाले माघी अगाडि सामाजिक सुरक्षा भत्ताको पाउनुपर्ने माग राखेका छन् । चिसोको समय भएको कारण जिल्ला विपद व्यवस्थापन समितिले न्यानो कपडा र दैनिक प्रयोगका सामग्री वितरण गर्न बिहीबार राउटेबस्तीमा पुग्नु भएका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भूसालसंग यो माग राखेका हुन् । फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय दुई दिन अघि मात्र दैलेखको भैरबी गाउँपालिका वडा नंं ४ बाङगेतडामा बस्ती सरेका राउटे समुदायको मुख्य चाड माघी आइरहेकोले माघी अघि नै सामाजिक सुरक्षा भत्ता पठाइदिन राउटे युवती गाजली शाहीले माग राख्नुभयो ।

राउटे समुदाय बस्ती सर्दै जहाँ गए नि दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरेकोले माघी अघि नै सामाजिक सुरक्षा भत्ता पठाउने बारे आफूले पहल गरिसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले बताउनुभएको छ । हरेक २-३ महिनामा बस्ती सार्दै हिंड्ने क्रममा दुई दिन अघि मात्र दैलेखको भैरबी गाउँपालिका वडा नंं ४ बाङगेतडामा बस्ती सरेका राउटे समुदायका ४१ परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले एक-एक वटा त्रिपाल, कम्बल, सिरक, टर्च, रुमाल, बाल्टी, जग सहितका सामग्री समेत दिइएको छ ।


जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भूसाल, नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी दिपेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्च प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल, सशस्त्र प्रहरीका डीएसपी समेतको टोलीले बस्तीमै पुगेर सहायता सामग्री दिएको हो । नेपालको एक मात्र फिरन्ते जीवन निर्वाह गर्दै आएको राउटे समुुदाय दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने भएकोले नेपाल सरकारले राउटे समुदायलाई दिने सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिका मार्फत पठाउने गर्दछ ।

राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाईमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसंगै बस्तै सर्दै हिंड्ने गरी परियोजनामा दुई महिला समेत चार जना कर्मचारी परिचालन गरेको छ । पहिले काठपाते, जडीबुटीको भरमा उपचार गर्ने पद्धति राउटे परियोजना र सहजकर्ताहरुको लामो प्रयासपछि सामान्य विरामी पर्दा वा चोट पटक लाग्दा राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मीकको सम्पर्कमा पुग्ने गरेका छन् । सोसेक नेपालले राउटे महिलाको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन महिला स्वास्थ्यकर्मी र पुरुषहरुलाई जाँच्न वा औषधि गर्नुपर्दा पुरुष स्वास्थ्यकर्मीले सहयोग पुर्‍याइरहनुभएको छ ।


राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका-८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । त्यहींदेखि गुराँस गाउँपालिकाले वडा नं. ८ का बासिन्दाको गणनामा राखी राउटे समुदाय बस्तै सर्दै जहाँ गए पनि त्यही पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । त्यतिबेला परिचयपत्र लिंदा राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिंदा ‘अहिले परिचयपत्र त लिन्छौं पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी शर्त राख्नुभएको थियो । राउटे समुदायले आफूहले पढाइलेखाई, खेती किसानी र एकै ठाउँमा बस्ती बस्न हुँदैन भन्ने पुरातन बिश्वास पालेको छ ।

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका-११ आमपानीमा स्थायी रुपमा बस्तै आएको छ । डडेल्धुरामा बालबालिका विद्यालय अनि बयस्कहरु मजदूरी गर्ने जस्ता सामान्य जनजीवनमा फर्र्किकएको अवस्थामा उनीहरुलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया बीरबहादुर शाहीको टिपपणी छ । ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’ उहाँको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *