जाजरकोट भुकम्प पिडितलाई दैलेखको महावु गाउँपालिकाद्धारा न्यानो कपडा वितरण
मातृभूमी संवाददाता । २० पुष दैलेख
दैलेखको महावु गाउँपालिकाले जाजरकोट भुकम्प पिडितलाई न्यानो कपडा वितरण गरेको छ । जाजरकोटको वारेकोट गाउँपालिका २ ढ्यारगाउँका ४७ घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीको समन्वयमा दैलेखको महावु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डे, महावु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाशराज थापा सहितको टोलीले न्यानो कपडा वितरण गरेको हो । बारेकोट गाउँपालिका २ ढ्यारगाउँमा रहेका १८ दलित घर परिवार र २९ अन्य घर परिवारलाई न्यानो कपडा वितरण गरिएको महावु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाशराज थापाले वताए ।
दैलेखको महावु गाउँपालिकाले न्यानो कपडा वितरण गरेपछि निकै खुशी भएको ढ्यारगाउँकी धनसरि परियारले बताईन् । राहतमा कसैले त्रिपाल मात्रै ल्याउने, कसैले कम्वल मात्रै ल्याउने भएपनि दैलेखको महावु गाउँपालिकाले घर परिवारका लागि चाहिने सिरक कम्बलसँगै बालबालिकाहरूका लागि समेत न्यानो कपडा ल्याएपछि निकै खुशी लागेको स्थानीय धनसरीले वताईन् ।
भूकम्पले थलिएको जाजरकोटको बारेकोट गाउँपालिकामा अहिले पनि भूकम्प पीडित त्रिपालमै बस्नु पर्ने बाध्यता रहेको महावु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले वताईन् । उनले दलित र विपन्न समुदाय वढि समस्यामा रहेको वताईन् । बारेकोट गाउँपालिका २ ढ्यारगाउँका १८ घर दलित समुदायका वृद्ध, बालबालिका, महिलालाई ब्ल्याङकेट, पी फर्म, डसना र दलित समुदायका ६५ जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको कार्यवाहक अध्यक्ष पाण्डेले जानकारी दिईन् । एउटा पालिकालाई परेको समस्या अर्को पालिकाले बेहोर्नुपर्छ भन्ने मान्यताका साथ महावु गाउँपालिकाले कार्यपालिका बैठकमा निणर्य गरेर सहयोग कार्यवाहक अध्यक्ष पाण्डेले वताईन् ।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले दैलेखको महावु गाउँपालिकाले देखाएको सहानुभूति निकै राम्रो भएको र दलित समुदायका बालबालिका, महिला, वृद्ध र अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।