सुन्तला बेचेरै लाखौं आम्दानी
मातृभूमी संवाददाता । २१ पुष दैलेख
दैलेखको दुल्लु नगरपालिका ६ छिउडी पुसाकोटका किसानले व्यवसायिक सुन्तला खेतीबाट लाखौँ आम्दानी गर्ने गरेका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण छिउडी पुसाकोटमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । किसानले सुन्तला बेचेर वार्षिक २ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् । छिउडी पुसाकोटमा उत्पादित सुन्तला बिक्रीका लागि दैलेख सदरमुकाम, चुप्रा वजार, सुर्खेत र नेपागन्ज सम्म पुग्ने गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको छिउडि पुसाकोटकी पुर्ना थापाले वताईन् । यस वर्ष १ लाख ५ हजारको सुन्तला बिक्री गरेको थापाले वताईन् । एउटै किसानले २ लाख रुपैयाँको सुन्तला बिक्री गरेको थापाले जानकारी दिईन् । अहिले आफ्नो बारीमा ५ सय जति सुन्तलाका बोटहरु भएको र २ सय बोटमा राम्रो फल लागेको उनले वताईन् । छिउडी पुसाकोटका अधिकांश किसानले सुन्तला खेती गर्ने गरेका छन् । उनले स्थानीय सरकारले सुन्तला खेती गर्ने किसानलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुनासो गरिन् ।
दैलेखका दुल्लु, चामुण्डाबिन्द्रासैनी, आठबीस नगरपालिका, गुराँस र ठाँटिकाँध गाँउपालिकामा सुन्तलाको उत्पादन राम्रो हुने गरेको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले वताए । दैलेखको ६ सय हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि राम्रो रहेको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।