लैंगिकता स्वमूल्यांकनमा चामुण्डा बिन्द्रासैनीलाई ५२ अंक प्राप्त
मातृभूमी संवाददाता । २२ चैत्र दैलेख
लैंगिक समानताका पाँच सूचक, २२ वटा उपसूचकको स्तरको अवस्था जाँच्न एक सय वटा प्रश्नावलीमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ५२ अंक प्राप्त गरेको छ । जबमुकाँधमा चलेको लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्यांकनमा झण्डै आधा जति काम गर्न बाँकी रहेको अवस्था देखिएको छ । लैंगिक समानता तथा सामाजिक परीक्षण कार्यदल, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु, विषयगत शाखा प्रमुख, बाल क्लव, लैंगिकता सवालमा काम गरिरहेका गैसस प्रतिनिधि समेतको सहभागितामा स्वमूल्यांकन गरिएको हो ।
लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्याकन कार्यक्रमको समापन कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले नगरपालिकाबाट लैंगिकताका सवालका कार्यक्रम सञ्चालित कार्यक्रमहरुलाई अझैं प्रभावकारी बनाउदै लैजान सुझाव दिए । त्यस अवसरमा उपप्रमुख मनसराकुमारी शर्माले आगामी वर्षको लागि बजेट बनाउने तयारी भइरहेको बेला लैंगिक उत्तरदायी बजेट बनाउन, त्यस अनुसारका कार्ययोजना तयार गर्न योजना शाखालाई आग्रह गरे ।
योजना शाखा सहायक प्रमुख खगेन्द्रबहादुर शाही, महिला तथा बालबालिका शाखा प्रमुख माया सिंह शाही, सूचना प्रविधि शाखा प्रमुख मनोज लम्सालले लैंगिक समानता तथा सामाजिक परीक्षण स्वमूल्यांकन मापन विधि र स्तरीकरणको विषयमा सहजीकरण गरेका थिए ।