बालकुमारी घटनाका मृतक सुजन रावतकी दिदि झरनालाई रोजगारी प्रदान
मातृभूमी संवाददाता । २६ चैत दैलेख
बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई रोजगारी दिने भनी गरेको प्रतिवद्धता अनुुसार सुजनकी दिदी झरना रावतलाई रोजगारी दिइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको समन्वयमा नारायण नगरपालिकामा राष्ट्रिय परिचयपत्र अन्तरगत कम्प्यूटर अपरेटर पदमा नियुक्त गरिएको जनाईएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले पनि भनिरहेको र गृहमन्त्रीले पनि फोन गरेको भन्दै नगरपालिकामा राष्ट्रिय परिचयपत्र अन्तरगत कम्प्यूटर अपरेटरको दरबन्दी पनि भरखरै आएको मौकामा बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतकी दिदीलाई नियुक्त गरिएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले जानकारी दिए ।
नेपाल सरकारले पीडित परिवारहरुसंग गरेको लिखित सहमती कार्यान्वयन गर्न गृह मन्त्रालयको पहलमा राष्ट्रिय परिचयपत्र अन्तरगत कम्प्यूटर अपरेटर पद सिर्जना गरिदिएको र नारायण नगरपालिकाले सरकारको सहमती कार्यान्वयन गराएकोमा प्रमुख जिल्ला अधिकारी भुसालले धन्यवाद दिए ।
सुजनको परिवारलाई यसअघि संघीय सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैंयाँ राहत सहयोग प्रदान गरेको थियो । पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको इपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका बीरेन्द्र शाहको ज्यान गएको थियो ।
मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिने र उचित राहत सहयोग दिने सहमति भएको थियो ।