वेथिति श्रृंखला-४४ : रेडियोका नाममा डेढ लाख र हाइड्रोका नाममा २५ लाख झ्वाम, अझै वनेन काम
मातृभूमी संवाददाता । ०५ वैशाख दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले आफ्नै रेडियो स्थापनाका लागि पाँच लाख रुपियाँ अनुदान दिने निणर्य गरेपनि अहिलेसम्म रेडियो संचालन हुन सकेको छैन । पाँच लाख अनुदान दिने निणर्य बमोजिम रेडियो स्थापनाका लागि सामग्री खरिद बापत १ लाख ५० हजार रुपियाँ भुक्तानी दिएपनि अहिले सम्म रेडियो स्थापना भएको छैन ।
आर्थिक वर्ष २०७६/७७ मा कार्यपालिकाको बैठकबाटै निणर्य गरी रेडियो स्थापनाका लागि छुट्याइएको रकम बिचौलिया मिलेर हिनामिना गरेको पाइएको छ । ४ वर्ष अघि बहुमतका आधारमा कार्यपालिकाबाट निणर्य भई रेडियो स्थापनाका लागि रातो किताबमै पाँच लाख बजेटको व्यवस्था गरिएको थियो ।
उक्त शीर्षकमा विनियोजित बजेटमध्ये पालिकाले स्थानीय अमर मल्ललाई रेडियो स्थापनाका लागि सामान खरिद गर्न भन्दै भुक्तानी दिएको थियो । रेडियो स्थापनाका बाँकी प्रक्रिया पुर्याउन नसकेपछि अन्य रकम भने पालिकाले रोकेको थियो ।
डुङ्गेश्वर गाउँपालिकाका योजना अधिकृत देवेन्द्र खड्काले रेडियो स्थापनाका लागि गाउँपालिकाले पाँच लाख रुपियाँ दिने निणर्य गरेको भएपनि १ लाख ५० हजार मात्र भुक्तानी दिएको जानकारी दिए । उक्त रेडियो स्थापना गर्ने भन्दै स्थानीय नागरिकसँग मल्लले थप रकम समेत संकलन गरेका थिए । मल्लले न रेडियो स्थापना गरे न त रेडियोका लागि आवश्यक सामग्री नै खरिद गरेका छन् । मल्लले राजनीतिक संरक्षणमा सरकारी रकम दुरुपयोग गरेपछि अहिले यो विषय सतहमा आएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा रेडियो स्थापनाका लागि रातो किताबमै पाँच लाख रकम छुट्याइएको स्थानीय मानबहादुर रावतले वताए । उनले राज्यले रेडियो बनाउन भनेर दिएको पैसा कहाँ गयो ? त्यो रेडियो कहाँ बनेको छ ? यसको हिसाब चाहियो भन्दै आक्रोस व्यक्त गरे ।
यस्तै दैलेखको डुङ्गेश्वर गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरमा पालिकाले भुक्तानी गरेको २५ लाख रुपियाँको समेत खोजी गरिएको छ । पालिकाले उक्त हाइड्रोमा सेयर लगनी गर्न भन्दै आव २०७६/७७ मा २५ लाख रुपियाँ भुक्तानी दिएको थियो ।
तर पालिकाले लगानी गरेको उक्त हाइड्रो निर्माण हुन नसकेर दिन प्रतिदिन झन् जिणर् हुँदै गएको भन्दै स्थानीयले विरोध जनाएका छन् । सरकारी बजेट आफन्त रिझाउने नाममा वितरण गरिएको र वास्तविक किसानले अनुदान नपाएको डुङ्गेश्वर गाउँपालिका ३ का डम्बरबहादुर वाग्लेले बताए ।
उनले स्थानीय तहले पशुपालन, कृषि लगायत विभिन्न शीर्षक अन्तरगतका योजनामा अनुदान बापतको रकम बाँड्ने गरे पनि आवश्यकता भन्दा पनि आफन्तलाई अनुदानको रकम बाँड्न स्थानीय तह उद्यत रहेको वताए । यसको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाई छ ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकाबाट वा सरकारी निकायबाट वितरण गर्ने गरिएको अनुदानको रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ भन्ने अनुगमन गर्ने संयन्त्र नभएका कारण नागरिक असन्तुष्ट भएपछि त्यसको वास्तविक खोजी गर्ने निणर्य गरिएको बताए ।
उनले स्थानीय सरकार गठन भएदेखि हालसम्म वितरण गरिएका सम्पूर्ण अनुदान रकमको खोजी गरी त्यसको सदुपयोग वा दुरुपयोग के भएको छ भनेर छानबिन गर्ने उद्देश्यले उक्त निणर्य गरिएको वताए ।