कर्णाली प्रदेशका विनोद कुमार शाहले शपथ नलिएपछि विवाद

मातृभूमी राजनितिक व्युरो । १९ वैशाख सुर्खेत
रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोद कुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गरेका छन् । एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए । तर शाहले शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गरेका थिए ।
पूर्वमन्त्री समेत रहेका शाहले कँडेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रोजेका थिए । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालयको जिम्मेवारी डोल्पाका शेरबहादुर बुढालाई दिएका छन् । महत्वपूर्ण मानिने मन्त्रालय नपाएपछि शाह शपथ ग्रहण कार्यक्रममा उपस्थित नभएको जनाईएको छ ।
आफूसँग मुख्यमन्त्रीले छलफल नै नगरी एकलौटी निणर्य गरेका कारण शपथमा सहभागी नभएको उनले बताए । पार्टी केन्द्रको नीति र विधि विपरीत सरकार विस्तार गरिएको शाहले आरोप लगाए । आफूसँग कुनै सल्लाह नगरी मन्त्री नियुक्त गरिएको शाहले जानकारी दिए । कँडेलले पार्टीको केन्द्रीय निणर्य नमानेर आफूखुसी सरकार विस्तार गरेकाले शपथ कार्यक्रममा सहभागी नभएको बताए ।
मुख्यमन्त्रीको कार्यशैली चित्त बुझ्दो नभएको र विना छलफल शपथको समय तोकिएकाले सहभागी हुन नसकेको उनको भनाइ छ । शाहलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, शेरबहादुर बुढालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र दक्षिणा शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी केन्द्रले तोकेको थियो ।
मुख्यमन्त्री कँडेलले केन्द्रको निर्देशन विपरीत मन्त्री बनाएको र वरियतामा ख्याल नगरेको शाहको भनाई छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राखेका छन् । कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *