पत्रकार महासंघमा दैलेख शाखामा तालावन्दी
मातृभूमी संवाददाता । १५ जेष्ठ दैलेख
सदस्यता शुद्धिकरणको बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाल पत्रकार महासंघ दैलेख शाखामा तालाबन्दी गरिएको छ । सदस्यता शुद्धिकरणमा प्रश्न उठाउँदै नेपाल प्रेस युनियन दैलेख र समाजवादी प्रेस संगठन दैलेखले पत्रकार महासंघ दैलेख शाखामा तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यता शुद्धिकरण मापदण्ड र विधान मिचेर केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई वाइपास गरी सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको भन्दै वाध्य भएर दैलेख शाखामा तालावन्दि गर्नु परेको प्रेस युनियन दैलेखका पुर्वसभापति भुपेन्द्र शाहीले वताए ।
सक्रिय पत्रकारलाई नविकरण सूचीबाट हटाएर चोर बाटोबाट ल्याइएको नामावली सूचीका आधारमा निर्वाचन गर्ने धृष्टता नगर्न समेत पुर्वसभापति शाहीले चेतावनी दिए ।
यस्तै पत्रकार महासंघ दैलेख शाखा र कर्णाली प्रदेश समितिले सिफारीस गरि पठाएको भन्दा फरक नामहरु समावेश गरी सूचीलाई अन्तिम रुप दिन लागिएको भन्दै तालावन्दी गरिएको समाजवादी प्रेस संगठन दैलेखका अध्यक्ष भिम सिजापतिले वताए ।
जिल्ला र प्रदेशले सिफारिस नै नगरेका व्यक्तिको नाम समावेश गरी सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेकाले तालावन्दी गर्नु परेको संगठनका अध्यक्ष सिजापतिले वताए । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ देशभर एकै साथ गर्न लागिएको छ ।