मातृभूमी एफ.एम. दैलेखका स्टेशन मैनेजर अमर सुनार पुरस्कृत
मातृभूमी संवाददाता । १५ असार दैलेख
आर्थिक तथा सामुदायिक विकासमा कलम चलाएको भन्दै रेडियो मातृभूमीका स्टेशन मैनेजर अमर सुनार पुरस्कृत भएका छन् । रोटरी इन्टरनेशनल ३२९२ को स्थापना दिवसको अवसरमा पत्रकारिताका ७ वटा विविध क्षेत्रमा दिंदै आएको पत्रकारिता पुरस्कार ७ जना पत्रकारलाई दिने क्रममा शनिवार काठमाण्डौंमा उनलाई उक्त पुरस्कार दिइएकोे हो ।
स्टेशन मैनेजर सुनार लगायत स्वतन्त्र लेखनी तर्फ रामु सापकोटा, खानेपानी तथा सरसफाई सवालमा तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा बसन्त प्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरता विषयमा विद्या राई, रोग उपचार तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापन विषयमा टंक पन्त पुरस्कृत भएका छन् ।
रोटरी इन्टरनेशनल ३२९२ काठमाण्डौंका कार्यवाहक अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको एक विशेष समारोहमा उक्त पुरस्कार दिइएको थियो । पुरस्कार ५१ हजार नगद सहित सम्मानपत्र रहेको छ । तीन दशकदेखि पत्रकारिता गर्दै आएका सुनारलाई उत्पीडितहरुलाई नागरिकतामा सम्मानित नाम दिलाउन सरकारको नीति निर्माणमा प्रभाव पार्न सकेको भन्दै उक्त पुरस्कार दिइएको हो ।
स्टेशन मैनेजर सुनार पत्रकारिताको कर्मथलो दैलेखमै रहेकाले उनकी छोरी दुर्गा बिकले काठमाण्डौंमा बुबाको पुरस्कार तथा सम्मानपत्र ग्रहण गरेकी थिईन् । जातीय विभेद विरुद्ध सामाजिक सचेतनामा अगुवाई गर्दै आएका सुनार जिल्लामा अधिकारकर्मी र तीन दशकदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता गर्दै आएका छन् ।