सुशासनमा भगवतिमाई पहिलो
मातृभूमी संवाददाता । १८ भदौ
दैलेखः दैलेखका ११ वटा स्थानीय तहमध्ये स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाई गाउँपालिका पहिलो भएको छ । जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ९५ अंक प्राप्त गर्दै पहिलो भएको हो । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा महाबु गाउँपालिका दोस्रो भएको छ । महाबुले आर्थिक वर्ष २०७९/०८० को सुशासन जोखिम मूल्यांकनमा ९१ दशमलव ५ अंक प्राप्त गरी दोस्रो भएको छ भने डुङ्गेश्रर गाउँपालिकाले ९० अंक प्राप्त गरी तेस्रो भएको जिल्ला समन्वय अधिकारी रेशमबहादुर बुढाले जानकारी दिए ।
स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकनमा भने दुल्लु नगरपालिका पहिलो भएको छ । प्राप्त विवरण अनुसार दुल्लुले आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्यांकनमा ९ दशमलव २५ अंक प्राप्त गर्दै पहिलो भएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा डुङ्गेश्रर गाउँपालिका ९१ दशमलव ५ अंक सहित दोस्रो र भगवतिमाई गाउँपालिका ८९ दशमलव ५ अंक सहित तेस्रो भएको हो ।
विवरण अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा नारायण नगरपालिकाले ७२ दशमलव ७५ अंकप्राप्त गरेको छ भने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८८ दशमलव ५ अंक प्राप्त गरेको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो भएको दुल्लु नगरपालिका सुशासन कायममा कमजोर देखिएको छ । दुल्लुले वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८२ अंक मात्र प्राप्त गरेको छ ।
यसै गरी, चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६८ अंक प्राप्त गरेको छ भने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६१ अंक मात्र प्राप्त गरेको समन्वय अधिकारी बुढाले बताए । आठबीस नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ५५ दशमलव ७५ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ७० अंक पाएको जनाइएको छ ।
भैरवी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कमजोर रहेको विवरणमा देखिएको छ । भैरवी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ५३ दशमलव ७५ र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ५३ अंक मात्र प्राप्त गरेको छ । वित्तीय सुशासन जोखिममा दोस्रो रहेको महाबुले संस्थागत क्षमता स्वमूल्यांकनमा ८२ दशमलव ७५ अंक प्राप्त गरेको छ ।