विकास परियोजनाबारे पालिका स्तरीय अभिमूखिकरण
मातृभूमी संवाददाता । १५ असोज दैलेख
अपाङ्गता भएका व्यक्तिहरुको ज्ञान र सिप अभिबृद्धिका लागि पहल (विकास) परियोजनाबारे दैलेख जिल्लाको डुङ्गेश्वर र गुराँस गाउँपालिकाका जनप्रतिनिधि, बिषयगत शाखा प्रमुख र अपाङ्गता भएका व्यक्तिहरुको सञ्जालका प्रमुखहरुलाई अभिमुखिकरण गरिएको छ ।
सिबिएम ग्लोबलको सहयोगमा एभरेष्ट क्लव दैलेखद्धारा सञ्चालन हुने परियोजनाले समावेशी आधारमा समावेशी जिविकोपार्जनका अवसरहरुको सृजना मार्फत अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको घरपरिवारको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने रहेको छ ।
२ पालिकाका १४ वटा वडामा २८ वटा स्वाबलम्वन समूह गठन मार्फत परियोजनाका क्रियाकलाप सञ्चालन हुने विकास परियोजनाका कार्यक्रम संयोजक सेत लाल डाँगीले जानकारी दिए । डाँगीका अनुसार सन् २०२७ सम्म सञ्चालन हुने परियोजनाले २ पालिकामा २०० जना अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाउने लक्ष्य लिएको छ ।
कार्यक्रममा बोल्दै डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार के.सी.ले अपाङ्गता भएका व्यक्तिहरुको सिप र क्षमताको अभिबृद्धिले उनीहरुलाई आत्मनिर्भरता तर्फ डोर्याउन सहयोग गर्ने वताए । यस्तै अभिमूखिकरण कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि.सी.ले अपाङ्गगता भएका व्यक्तिहरुलाई आर्थिक क्रियाकलापमा जोड्न सकियो भने उनीहरुको पहुँचयुक्ततामा वृद्धि हुने वताए ।
एभरेष्ट क्लब दैलेखका बरिष्ठ उपाध्यक्ष बालकृष्ण के.सी.ले दैलेखी समुदायको समावेशी विकासका लागि संस्थाले सधै पहलकदमी लिने वताए । असोज १० र १४ गते सञ्चालन भएको अभिमूखिकरण कार्यक्रममा दुवै गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवाला गरेर जम्मा ८४ जनाको सहभागिता रहेको थियो ।