पेट्रोलियम पदार्थ अन्वेषणमा थप आशा र उत्साह

अस्मित सिजापति । २८ कात्तिक, दैलेख
दैलेखमा रहेको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ६९ प्रतिशत सम्पन्न भएको छ । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ६९ प्रतिशत सम्पन्न भएको हो । २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम ३ हजार १ सय मिटर पुगेको छ भने ४ हजार मिटर देखि ४ हजार ५ सय मिटरसम्म जमिन मुनि ड्रिलिङ पाइप पुर्‍याउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियान अन्र्तगत काम सञ्चालन भैरहेको छ ।
अन्वेषणको अहिलेसम्मको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले जानकारी दिए । अझै एकिन भन्न सकिने अवस्था नभएपनि जमिन मुनि ३ हजार ७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिए अनुसार केही लिकेज ग्यासहरु देखिएको छ । यसले सकारात्मक संकेत गर्न सक्ने भूगर्भविद् लुइँटेलले वताए ।
साना ग्यासका भण्डारलाई विसर्जन गर्ने र ग्यास लिकेज गर्ने मेसिन पनि सँगसँगै जडान गरिएको छ । अहिले जमिन मुनि साना भण्डारणहरू समेत देखिएकोले थप आशा र उत्साह बढेको भूगर्भविद् लुइँटेलले वताए । भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप कामहरू अगाडि बढाइने भएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो । अन्वेषण कार्यले नेपालमा उत्पादन योग्य पेट्रोलियम पदार्थ भेटिन सक्ने सम्भावना धेरै भएकोले दैलेखका बासिन्दाहरू खुसी भएको प्रतिनिधि सभा सदस्य अमर वहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *