अपांगता भएका व्यक्तिलाई ठाउँ-ठाउँमा सास्ती
मातृभूमी संवाददाता । १८ मंसिर दैलेख
अपांगता भएका व्यक्तिहरुले परिचयपत्र लिनै सास्ती खेप्नु परेको दुखेसो गरेका छन् । न्यून दृष्टि भएका नारायण नगरपालिका ९ का बसन्त कुमार थापाले अपांगता परिचयपत्र पाउन आँखा जाँच्न नेपालगञ्ज जानु परेको र बैंक खाता खोल्दा बैंकले पटक-पटक बोलाउने गरेको दुखेसो गरे ।
यस्तै नारायण नगरपालिका १ कुईकानाका कुमार गौतमले अपांगता भएका व्यक्तिहरुलाई रोजगारीबाट हटाउन पाइदैन भन्ने व्यवस्था भएपनि कैयौंलाई हटाइएको र रोजगारीका अवसरहरुमा प्राथमिकता नदिएको वताए । नीति र कानूनमा सहुलियत छ तर व्यवहारमा कार्यान्वयन नभएको गौतमले बताए ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार वाहिरको नेतृत्व यसको आधार’ भन्ने मुल नारा सहित अपाङ्गता सम्बन्धी ३३ औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा नारायण नगरपालिकाले दैलेख सदरमुकाममा आयोजना गरेको खुला अन्तरक्रिया कार्यक्रममा सहभागी भएका अपांगता व्यक्तिहरुले आ-आफ्ना समस्या सुनाएका थिए । कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले अपांगता भएका व्यक्तिहरुलाई दिइने सेवा सुविधा सहज बनाइने प्रतिवद्धता जनाए ।
खुला बहसमा उठेका समस्याहरुका विषयमा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत रेशम वहादुर बुढा, नारायण नगरपालिका महिला, वालवालिका शाखा प्रमुख गोमा केसी, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल, नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाका सभापति निर्जनकुमार खत्री र नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले जवाफ दिएका थिए । अन्तरक्रिया कार्यक्रमको सहजिकरण दैलेखका संचारकर्मी तथा पत्रकार भिम सिजापतिले गरेका थिए ।