डेकेन्द्र स्मृति भवन वनाउन सचिव सिजापतिले गरे ५० हजार सहयोगको घोषणा
अस्मित सिजापति । ३ पुष दैलेख
नेपाल पत्रकार महासंघ दैलेखका सचिव भिम सिजापतिले डेकेन्द्र स्मृति भवन वनाउन ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन् । दैलेख सदरमुकामा भएको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सचिव सिजापतिले डेकेन्द्र स्मृति भवन बनाउन ५० हजार रुपैंयाँ नगद सहयोग गर्ने घोषणा गरेका हुन् ।
सचिव सिजापतिले भवन वनाउन जग्गा प्राप्ति गरी डेकेन्द्र स्मृति भवन निर्माण प्रक्रिया शुरु भएपछि ५० हजार रुपैंयाँ नगद सहयोग गर्ने घोषणा गरेको महासंघका जिल्ला अध्यक्ष अमर सुनारले जानकारी दिए ।
यस्तै सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले देशमा वित्तीय सुशासनका निम्ति आमसञ्चार माध्यमले खबरदारी अझैं बढाउन आग्रह गरे । निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले देश विकासका प्रमुख वाधक भ्रष्टाचार रहेकोले यसलाई थितिमा ल्याउन र वित्तीय सुशासन सुदृढ बनाउन सबै क्षेत्रको तत्परता जरुरीसँगै मिडियाले अझैं खबरदारी बढाउन आवश्यक रहेको वताए । उनले मिडियाले भोगिरहेका समस्या समाधान गर्न आफू सधैं सकारात्मक रहेको समेत वताए ।
कार्यक्रममा दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले विधिको शासन पालना गराउन आम सञ्चार माध्यमले पहल गर्नुपर्ने बताउँदै त्यसका लागि नेपाल पत्रकार महासंघले नेतृत्व गर्नुपर्ने सुझाव दिए । डिभिजन वन कार्यालय दैलेखका प्रमुख राधाकृष्ण दासले मिडियाले समाज रूपान्तरणमा ठूलो भुमिका खेलेको बताए ।
त्यस्तै नेपाल प्रेस युनियन दैलेखका पुर्वसभापति एंव नेपाली काँग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाहीले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले डेकेन्द्र स्मृति भवन बनाउने निणर्यको स्वागत गर्दै कार्यान्वयनमा आफ्नो र पार्टीको पुणर् सहयोग रहने बताए । नेकपा एमाले दैलेखका उपसचिव मीनबहादुर बुढाले आम सञ्चार माध्यमले लेख्ने समाचार सामाग्रीमा निखारता आउन जरुरी रहेको वताए ।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा, गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्द, दैलेख बार एशोसियसनका अध्यक्ष ललित थापा, प्रेस यूनियन दैलेखका सभापति अभिषेक अनुराग, युवा अभियन्ता प्रकाश बुढा लगायतले आ-आफ्नो भनाई राखेका थिए ।