पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङकाे काम सम्पन्न
दैलेखमा भैरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङकाे काम सप्पन्न भएको छ । दैलेखको भैरवी गाउँपालिका १ जलजले क्षेत्रमा गएको वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङको काम सुरु भएको थियो । चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा यो परियोजना संचालन भैरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार ४ हजार २ मिटर ड्रिलिङ गरिसकिएको छ । अन्वेषणका क्रममा केहि आशाका संकेतहरु देखा परेको र प्राकृतिक ग्यास हुन सक्ने खानी तथा भुगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका वरिष्ट भुगर्भविद् डा. गणेशनाथ त्रिपाठीले वताए । प्रस्तुत छ मातृभूमी सहकर्मीले वरिष्ट भुगर्भविद् डा. त्रिपाठीसँग गरेको कुराकानीको सम्पादित अंस :
पेट्रोल, डिजेल र प्राकृतिक ग्यास मध्ये के हुन सक्ने सम्भावना छ ?
हामीले ड्रिलिङको थालनी गर्दा पेट्रोल पनि हुन सक्ने शंका धेरै गरेका थियौँ । खन्दै जाँदा त्यहाँ पेट्रोल वा डिजेल जसलाई हामी कच्चा तेल पनि भन्छौँ । त्यसको खासै संकेत भेटिएका छैनन् । प्राकृतिक ग्यास भएको सम्भावना धेरै छ ।
ड्रिलिङको काम सम्पन्न भएपछि व्यवसायिक रुपमा सम्भावना छ की छैन ?
त्यसको लागि अर्को चरणमा अध्ययन गर्नुपर्छ । अर्को चरणमा कति मात्रामा भण्डार छ । त्यो भण्डार व्यापारिक रुपमा उत्खनन् गर्ने नगर्ने भनेर अध्ययन गरिन्छ । अहिले चीन सरकारले गरिरहेको कामले व्यावसायिक रूपमा उत्खनन् सम्भव छ कि छैन भनेर हेर्दैन । अहिलेको अध्ययनको मुख्य लक्ष्य नै दैलेखमा पेट्रोलियम पदार्थ छ कि छैन भनेर पत्ता लगाउनु मात्रै हो । अहिलेको ड्रिलिङले व्यापारिक महत्वका बारेमा विश्लेषण वा अध्ययन गर्ने कुरालाई समेटेको छैन । भण्डारण छ या छैन भन्ने पुष्टिसम्मको विषय चाहिँ यो सम्झौता अर्न्तगतको अध्ययनले दिन्छ ।
आगामी चरणमा यति वेला गरिएको अध्ययन भन्दा अझ सहज हुन्छ या अझै कठिन अध्ययन हुन्छ ?
अहिले भइरहेको ड्रिलिङ र अध्ययन हाम्रा लागि निकै महत्वपूर्ण छ । एक किसिमले यसले विभिन्न आधार तयार पारिसकेको छ । अर्को चरणमा पनि धेरै परीक्षणहरू अहिले खनिएकै कुवामा हुन्छन् । त्यस कारणले गर्दा यत्तिको जटिल हुँदैन । आउँदा दिनमा गर्ने कार्यहरूको लागि चाहिँ अहिले सम्मको अनुभवले पनि निकै सहज नै हुन्छ । अहिलेको जस्तो जटिल हुँदैन भनेर विश्वास गर्न सकिन्छ ।
जलजले क्षेत्रमा भण्डारण छ की छैन ?
अब अहिले भण्डारण रहेको पुष्टि हुनु नै हाम्रो लागि सकारात्मक नतिजा हो त्यसरी पुष्टि भईसके पछी अब हामीले जुन अर्न्तराष्ट्रिय चलन चल्ति अनुसार पनि यसको उत्पादन गर्ने कामहरुको लागी चाँही हामीले अरु पेट्रोलियम ऐन नियामावलीका लागी छ । पेट्रोलियम अन्वेषणका इतिहासमा नेपालको लागी हामी थप एक स्टेप अगाडी बढेको अवस्था पक्कै पनि हो । दैलेखमा प्राकृतिक ग्यास भएको संकेतहरु देखिएका छन् । विभिन्न तह तहमा त्यो भनेको हामी आगमी दिनमा पेट्रोलियम क्षेत्रमा लगानी गर्दा खेरी लगानीकर्ता आकर्षित हुने सम्भावना पक्कै वढाएको छ ।
पेट्रोलिय पदार्थ वा प्राकृतिक ग्यास उत्पादन सम्म जानका लागि कती समय लाग्ला ?
अहिलेको ड्रिलिङले धेरै आधार दिने हुनाले दोस्रो चरणको अध्ययन अनुसन्धानमा धेरै लामो समय नलाग्ला भन्ने हाम्रो अनुमान हो । दोस्रो चरणको अध्ययन गरेपछि धेरै कुरा पत्ता लाग्ने छन् । यदि ठूलै भण्डारण भेटियो भने हामीले १ दशक कुर्न नपर्ला । आधा दशक अर्थात् पाँच वर्ष भित्रमा ग्यास उत्खनन् हुन सक्छ ।
महत्वपुर्ण समय दिनुभयो त्यसका लागि यहाँलाई धेरै–धेरै धन्यवाद ।
यहाँले पनि मलाई आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा धेरै–धेरै धन्यवाद ।