अपाङ्गता समावेशी विकास सम्बन्धी तालिम सम्पन्न
मातृभूमी संवाददाता । २४ पुष दैलेख
दैलेखको गुराँस गाउँपालिकामा २ दिने अपाङ्गता समावेशी विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । सिबिएम ग्लोबल र एभरेष्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित विकास परियोजनाले गुराँस गाउँपालिकासँगको समन्वयमा यहि पुुस २२ र २३ गते जनप्रतिनिधि तथा बिषयगत शाखा प्रमुखहरुलाई तालिम दिएको हो ।
गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काको अध्यक्षतामा सम्पन्न तालिममा कार्यपालिकाका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु, अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिमका सहभागीहरुलाई अपाङ्गताको परिभाषा र बर्गिकरण, समावेशी विकास र यसको महत्व, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अर्न्तराष्ट्रिय नीति तथा ऐन, दिगो विकासको अवधारणा, पहुँचयुक्त भौतिक पुर्वाधार, स्थानिय समन्वय समितिको काम कर्तव्य तथा अधिकार, समुदायमा आधारित अपाङ्गता समावेशी विकासका सूचकहरुको बारेमा प्रशिक्षित गरिएको विकास परियोजनाका कार्यक्रम संयोजक सेत लाल डाँगीले जानकारी
दिए ।
तालिमको अन्तिम दिन समावेशी विकासका लागि योजना तयार गर्दै आगामी दिनमा लागु गर्ने प्रतिबद्धता गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले गरेकी थिईन् । ३० जनाको सहभागिता रहेको २ दिने तालिमको सहजिकरण प्रशिक्षकद्धय जित लाल ढकाल र शोभा रेग्मीले गरेकी थिईन् ।